रेसुङ्गा समाचारदाता
रेसुङ्गा (गुल्मी), माघ १ गते । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सङ्गममा पर्ने रुरुधाममा पहिले तीन वटै जिल्लाको संयोजनमा माघेसङ्क्रान्ति अर्थात् रुरुमेला हुने गथ्र्याे । बर्सेनि रुरुमेलाका अवसरमा कालीगण्डकी नदीमा स्नान गर्ने र ऋषिकेश मन्दिरको दर्शन गर्नेले बगर भरिभराउ हुन्थ्यो । गुल्मी र पाल्पातर्फ पहुँचमार्ग भए पनि स्याङ्जामा सडक अभावका कारण दर्शक पुग्दैनथे । अहिले तीनमुखे पुलले तीन जिल्लालाई जोडेपछि माघेसङ्क्रान्तिका अवसरमा आआफ्नै मेला र महोत्सव हुने गरेका छन् ।
रुरुमेलामा गुल्मीतर्फ व्यापारिक स्टल धेरै छन् । रोल्पा, रुकुम, कालीकोट, हुम्ला र जुम्लाबाट आउने हिमाली व्यवसायीले गुल्मीतर्फ नै व्यापार गर्छन् । रुरु उद्योग वाणिज्य सङ्घको आयोजना तथा स्थानीय दुई क्लबको संयोजनमा विभिन्न स्थानीय तहको सांस्कृतिक तथा कृषि प्रदर्शनी कार्यव्रmम गरिएको रुरुक्षेत्र गाउँपालिकाका प्रमुख यदु ज्ञवालीले जानकारी दिनुभयो । रुरुमेलालाई थप आकर्षित गर्न गुल्मीको रुरुक्षेत्रका स्थानीय नौ युवा मिलेर जेट बोट सञ्चालन गरेका छन् । रुरु ताल रिडी एडभेन्चर प्रालिका अध्यक्ष रविलाल पन्थले एक करोडको लगानीमा रिडीमा नदी थुनेर अस्थायी ताल निर्माण गरेपछि ११ जना राख्न मिल्ने क्षमताको दुई जेट बोट सञ्चालन गरिएको जानकारी दिनुभयो ।
पाल्पामा पनि करिब एक सय व्यापारिक स्टलको व्यवस्थापन गरिएको छ । विशेष गरेर कालीगण्डकी नुहाएपछि ऋषिकेष मन्दिरको दर्शन गर्नेको पाल्पातर्फ भिड हुने गरेको छ । तानसेन नगरपालिका–१४, अर्गलीका वडाध्यक्ष शोभाखर भट्टराईले पाल्पाको विशेष जोड क्रृषिकेष मन्दिर दर्शन भएकाले व्यवस्थापकीय काम नगरपालिकाकै नेतृत्वमा भएको बताउनुभयो । उहाँले पाल्पातर्फ पूर्ण शाकाहारी भोजनको स्टल, व्यापारिक तथा जोगी, साधुसन्तको उपस्थिति रहने बताउनुभयो । स्याङ्जातर्फ ११ वटा स्टलसहित भलिबल, स्थानीय कला संस्कृतिको प्रदर्शनी र कलाकारको छुट्टै कार्यक्रम तयारी भइरहेको कालीगण्डकी गाउँपालिका–१, स्याङ्जाका वडाध्यक्ष कृष्णबहादुर लामिछानेले जानकारी दिनुभयो ।
रुरुमा व्यापारी चार दिनअघिबाटै व्यापारका लागि बगरमा आएर बास बसेका छन् भने कालीगण्डकीको स्नान गर्न बेलुका नै रिडी पुग्नेको भिड सुरु भएको छ । मालिका गाउँपालिका–१, नेटाका ७९ वर्षीय छत्रबहादुर घिमिरे बर्सेनि रुरु मेलामा कालीगण्डकी स्नान गर्न अघिल्लो दिन नै रिडी आइपुग्नुहुन्छ । घिमिरेले माघेसङ्क्रान्तिमा भिड हुने र घर फर्किन रात पर्ने भएकाले अघिल्लो दिन नै आएर रिडीमा बस्ने गरेको सुनाउनुभयो ।
रुरुमेला व्यापारका दृष्टिकोणले समेत प्रख्यात मानिन्छ । रुकुमेली काम्लो, रोल्पाको घाँजी र बागलुङका बाँसका सामग्रीले रुरु बगर भरिभराउ छ । जाडो मौसममा ज्यादै न्यानो र गुणस्तरीय हुने भएकाले काम्लो, राडीपाखी खोज्ने छन् । हातबाट ऊनको काम गर्नेहरू मर्दै गए, रेडिमेट कपडा खोज्ने बढेका कारण हस्तकलाका सामग्रीको व्यापार कम हुने गरेको जुम्ला कनकासुन्दरी गाउँपालिका–७ का ६४ वर्षीय गोरबहादुर कार्कीले बताउनुभयो । उहाँले २५ वर्षदेखि ऊनबाट बनेका राडीपाखी, काम्लो, स्वेटर, च्यादर र कम्बललगायतका सामग्री बोकेर रुरु मेलामा आउने गर्नुभएको छ ।