• १ माघ २०८२, बिहिबार

गुल्मीमा सवारी धनी मालामाल, यात्रु सधैँको मर्कामा

blog

तिलाचन पाण्डे
तम्घास(गुल्मी), माघ १ गते ।
गुल्मीका प्राय सडकहरु कालोपत्रे भए पनि भाडादर भने पुरानै हुँदा यात्रुहरू मर्कामा पर्दै आएका छन् । जिल्ला भित्र पर्ने राष्ट्रिय राजमार्ग मदन भण्डारी राजमार्ग र राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी काेरिडोर सडक स्तराेन्नतिसँगै कालोपत्रे भए पनि भाडादरमा भने परिवर्तन हुन सकेको छैन । जसले गर्दा सवारीलाई मालामाल भएको छ भने यात्रुहरू मर्कामा पर्दै आएका छन् ।

कालीगण्डकी काेरिडोर गुल्मी खण्डको रिडीदेखि पुर्तिघाट सडक खण्ड ३५ किलोमिटर दूरीको हो । ३५ किलोमिटर दुरीको सडकमा यात्रा गर्ने यात्रुहरुले अहिले चार सय रुपियाँ भाडा तिर्नु पर्ने बाध्यता छ । सोही प्रकृतिको सडक पाल्पामा ३५ किलोमिटर दूरीको १६६ रुपियाँमा यात्रा गर्न सकिन्छ । पश्चिमाञ्चल यातायात प्रालि टिकट काउन्टर पुर्तिघाटका शङकर न्यौपानेले पुर्तिघाटबाट रिडीसम्मको बसको भाडादर चार सय रुपियाँ नै रहेको र सोही अनुसार टिकट काट्दै आएको बताउनु भयो । यस्तै मदन भण्डारी राजमार्गको रिडीदेखि तम्घास सडक खण्डमा ४५ किलोमिटरको ३५० रुपियाँ भाडादर रहँदै आएको छ । उक्त सडक पनि अहिले कालोपत्रे भइरहेको छ ।

यात्रुहरू यसरी मर्कामा पर्दा पनि सरोकारवाला निकायहरू भने मौन रहेको पाइएको छ । लुम्बिनी प्रदेश सरकारको सवारी यातायात तथा परिवहन ऐन २०७६ को दफा ९० मा व्यवस्था भए बमोजिम जिल्लामा जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा मार्ग तथा भाडा निर्धारण सिफारिस समिति रहने व्यवस्था रहेको छ ।

जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले कालीगण्डकी काेरिडोरमा भाडादर अधिक भएको आफूलाई पनि लागेको र जिल्लाका अन्य स्थानहरूमा पनि सडकको अवस्थामा पहिलेको तुलनामा धेरै सुधार भएकाले  भाडादर समायोजन गर्ने गरी आफू लागेको बताउनु भएको छ ।

आफूले केही महिना पहिले केही प्रयासहरू गरे पनि परिणाम भने देखिन नसकेको बताउनु भयो । आफूले सरोकारवाला र यातायात कार्यालयका प्रतिनिधिबिच छलफल पश्चात भाडादरसँगै अन्य समस्याहरूको समाधानका लागि निर्णय गरेर प्रदेश यातायात मन्त्रालयमा पठाएको र त्यहाँबाट स्वीकृत भएर नआएको उहाँको भनाइ छ ।