• १ माघ २०८२, बिहिबार

निर्माणाधीन सडकको अवरोध हटाउने सहमति

blog

उर्लाबारी समाचारदाता 

उर्लाबारी (मोरङ), माघ १ गते । राष्ट्रिय राजमार्गको वैकल्पिक सडकका रूपमा सरकारले राष्ट्रिय गौरवको योजना बनाएर निर्माण सुरु गरेको मदन भण्डारी राजमार्गको मोरङ खण्ड अन्तर्गत केराबारी गाउँपालिकाको भलुवा क्षेत्रमा पर्ने घर हटाउन सहमति जुटेको छ ।  

एकपछि अर्को समस्या खेपिरहेको यो आयोजना कतै राष्ट्रिय वनका रुख हटाउन नसकेर, कतै सडक किनारका घरलाई व्यवस्थापन गर्न नसकेर त कतै व्यक्तिको जग्गामा सडकको डिपीआर भएर रोकिरहेको छ । मोरङ खण्डमा पर्ने ९.४२ किमी सडकले वनक्षेत्रको २०.९४३ हेक्टर जग्गाका रुख हटाउने काम सकिएपछि सडक निर्माणको काम अगाडि बढ्ने स्थानीयको अपेक्षा थियो । मोरङको मिक्लाजुङ, लेटाङ र केराबारी गाउँपालिकामा पर्ने एक हजार ३३३ वटा रुख काटेर निर्माण क्षेत्र खाली गरिसकिएको छ तर केराबारी–९, भलुवाका आठ परिवार र वडा नं.ं ३ को एक परिवारलाई अन्यत्र व्यवस्थापन गर्न नसक्दा सडक निर्माणको काम रोकिएको थियो । 

मङ्गलबार केराबारी गाउँपालिकाले सडक किनारमा बसेका नौ परिवारसँग छलफल गरी सहमति जुटाएको छ । गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङका अनुसार पालिकाले जग्गा खोजेर नौ परिवारलाई उपयुक्त स्थानमा सार्ने सहमति भएको जानकारी दिनुभयो । उहाँका अनुसार घरको क्षतिपूर्ति वितरणका लागि जिल्ला प्रशासन कार्यालय मोरङसँग क्षतिपूर्ति निर्धारण गरिदिनका लागि पत्राचार गर्ने सहमति भएको छ । 

मदन भण्डारी राजमार्ग आयोजना दमक कार्यालयका निमित्त आयोजना प्रमुख सुवासकुमार दत्तका अनुसार जिल्ला प्रशासन कार्यालय मोरङले गठन गरेको क्षतिपूर्ति निर्धारण समितिले तोकेबमोजिम आयोजनाले क्षतिपूर्ति दिने बताउनुभयो । सरकारी दररेटमा दिएको क्षतिपूर्तिमा उहाँहरू सहमति हुनु भएन भने पुनः  समस्या आउने निमित्त प्रमुख दत्तको भनाइ छ । 

तर वडा नंं. ९ का वडाध्यक्ष गोपाल याक्खाले सरकारी दररेट अनुसार प्राप्त हुने क्षतिपूर्तिमा पीडित सहमत हुनु भएन भने गाउँपालिकाले आफ्नोतर्फबाट व्यवस्थापन गरेर भए पनि सडकको ‘राइट अफ वे’ खाली गर्ने बताउनुभयो । उहाँले राष्ट्रिय गौरवको आयोजनाको महìव पीडितले बुझिसक्नु भएकोले थप समस्या नहुने जानकारी दिनुभयो ।  

केराबारी–९ का भलुवा पूर्वपट्टि सडक किनारमा रहेका इन्द्रबहादुर राई, सुरेन्द्र चौधरी, खगेन्द्र लिम्बू, कटकबहादुर राई, राजेन्द्र साह, बालानन्द खत्री, शान्तमाया मगर, निर्मला घिमिरे र वडा नं.ं ३ का लालबहादुर कार्कीको घरका कारण राष्ट्रिय गौरवको आयोजना निर्माणमा ढिलाइ भइरहेको हो । 

मदन भण्डारी राजमार्ग आयोजना दमक कार्यालयका निमित्त कार्यालय प्रमुख सुवासकुमार दत्तका अनुसार रुख काट्ने बाटो खुलेसँगै राजमार्ग निर्माणको काम तीव्र गतिमा अगाडि बढेको थियो । ससाना विषयले ठुलो समस्या आउने गरेकोले जुन गतिमा काम हुनुपर्ने हो त्यो गतिमा हुन सकेको छैन । उहाँका अनुसार हालसम्म आयोजनाको ८७ प्रतिशत भौतिक प्रगति भएको छ । बजेटको अभाव र भुक्तानीमा कुनै समस्या छैन । निमित्त प्रमुख दत्तले १० अर्ब १३ करोड रुपियाँको ठेक्का सम्झौतामध्ये हालसम्म आठ अर्ब रुपियाँ भुक्तान भइसकेको जानकारी दिनुभयो । चालु आवमा पनि ४९ करोड रुपियाँ विनियोजन भएकाले बजेट अभाव नहुने उहाँको भनाइ छ । 

निर्माण कम्पनी श्रेष्ठ–मोतीदान जेभीका सञ्चालक प्रह्लाद ढुङ्गानाले निर्माण क्षेत्र खाली भयो भने निर्धारित समयमा काम सक्ने बताउनुभयो । सबैभन्दा ठुलो समस्या सडकको डिपिआरभित्र पर्ने रुख थिए । ती रुख हटाउने काम अन्तिम चरणमा पुगेकोले असारसम्म तीव्र गतिमा काम हुने ढुङ्गानाले जानकारी दिनुभयो । उहाँले निर्माण हुन बाँकी सडकमा सवारीसाधनको चाप नहुने, मानवीय उपस्थिति नहुने भएकोले काम गर्न सजिलो र छिटो हुने  विश्वास व्यक्त गर्नुभयो ।