• १ माघ २०८२, बिहिबार

माघीको रौनकः मनरीमा २०औँ खिचडी महोत्सव

blog

खिचडी महोत्सव र मेलाको रौनक । तस्बिर : पुरुषोत्तम सुवेदी

पुरुषोत्तम सुवेदी  
पश्चिम् नवलपरासी, माघ १ गते  । 
पश्चिम नवलपरासीका विभिन्न स्थानमा माघी (मकर सङ्क्रान्ति) को अवसर पारेर खिचडी महोत्सव आयोजना गरिएको छ । विशेषगरी सरावलको मनरी र पाल्हिनन्दनको गोपालपुरमा यतिबेला खिचडी महोत्सव र मेलाको विशेष रौनक छाएको छ । गोपालपुरको गोरखनाथ मन्दिरमा नयाँ अन्नको ‘खिचडी’ चढाउने परम्परा, पाल्हिनन्दन गाउँपालिका–२, गोपालपुरमा अवस्थित ऐतिहासिक श्री गुरु गोरखनाथ मन्दिरमा परम्परागत खिचडी मेलाको भव्य रौनक देखिएको छ । प्राचीन कालदेखि चल्दै आएको यो मेलामा यस वर्ष पनि नेपालका विभिन्न जिल्ला र छिमेकी राष्ट्र भारतबाट समेत हजारौँको सङ्ख्यामा भक्तजनहरूको उपस्थिति रहने अपेक्षा छ ।

गुरु गोरखनाथलाई नयाँ अन्नको ‘खिचडी’ चढाउने परम्परा अनुसार श्रद्धालुहरूले स्नान गरी बिहीबार मन्दिरमा पवित्र खिचडी, तिल, र लड्डु चढाउन पूजाआजाका लागी श्रद्धालुहरू पुग्ने  छन् । स्थानीय बासिन्दा जीतेन्द्र गुप्ताका अनुसार, यो मेला केवल धार्मिक पर्व मात्र नभई यस क्षेत्रको सामाजिक सद्भाव र पर्यटन प्रवर्धनको माध्यम समेत बनेको छ । मन्दिर व्यवस्थापन समितिले विगतका वर्षहरूको तुलनामा यस वर्ष भक्तजनको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको जनाएको छ ।

मनरीमा थारु सांस्कृतिक पार्क मुख्य आकर्षण
सरावल गाउँपालिका–२, मनरीमा माघीको अवसर पारेर २०औँ खिचडी महोत्सव सुरु भएको छ । श्रीराम युवा प्रतिष्ठानको आयोजनामा भएको यो महोत्सव माघ २ गतेसम्म चल्नेछ ।

यस वर्षको महोत्सवको मुख्य केन्द्रबिन्दु मनरीस्थित थारु सांस्कृतिक पार्क बनेको छ । थारु समुदायको पहिचान र मौलिकतालाई विश्वमाझ चिनाउन पार्कभित्र विशेष तयारी गरिएको छ । पार्कमा परम्परागत थारु घर निर्माण गरिएको छ, जहाँ थारु पुर्खाहरूले प्रयोग गर्ने ऐतिहासिक सामग्री, पुराना भाँडाकुँडा र मौलिक भेषभूषाहरू प्रदर्शनीमा राखिएका छन् ।

“हाम्रो कला, हाम्रो पहिचान’’ भन्ने नारालाई सार्थक बनाउन महोत्सव अवधिभर विभिन्न मौलिक सांस्कृतिक प्रस्तुतिहरू रहने आयोजकले जनाएको छ । यस महोत्सवले स्थानीय प्रतिभा उजागर गर्नुका साथै मनरी क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

महोत्सव र मेलाको  पश्चिम नवलपरासीको सांस्कृतिक गरिमालाई थप उचाइमा पु¥याउने विश्वास लिइएको छ । स्थानीय सरकार र विभिन्न संघसंस्थाहरूको समन्वयमा आयोजना गरिएका यस्ता मेला महोत्सवले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कारसँग जोड्न र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन ठुलो सहयोग पुग्ने देखिन्छ ।