कविराज घिमिरे
हिले, माघ १ गते । राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारीपात्ले धनकुटाले कृषकका लागि सुन्तला, कागती र निबुवा गरी सात ८ जातका बिरुवा सिफारिस गरेको छ । जसमा कागती तीन र सुन्तलाको चार जात रहेका छन् । २०७२ साल यता पारीपात्लेले ८ जात सिफारिस गरेको हो । हाल सम्म पारीपात्लेले कागतीको तिन सुन्तलाको ४ र निबुवाको एक जात कृषकलाई खेतीका लागि सिफारिस गरेको राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारीपात्लेका प्रमुख वरिष्ठ वैज्ञानिक मुख्य वैज्ञानिक वसन्त चालिसेले जानकारी दिनुभयो ।
उहाँका अनुसार तराईका लागि सुन कागती एक सुन कागती दुई र मध्य पहाडको लागी तेह्रथुमे स्थानीय गरी तिन जात सिफारिस गरेको हो । त्यस्तै, खोकु स्थानीय, बाँस खर्क स्थानीय, पारीपात्ले अगौटे एक र पारीपात्ले अगौटे दुई गरी ४ जात रहेका छन् । त्यस्तै पारीपात्ले सुनौलो निबुवा सिफारिस गरेको हो । यो सिफारिस पछि कृषकलाई यी जातको खेती गर्न सहज हुने तथा खेती प्रविधिको बारेमा कृषकलाई जानकारी हुने प्रमुख चालिसेको भनाइ छ ।
पारिपात्लेले जुनारका दुई प्रजाति पनि सिफारिसको तयारीमा रहेको जनाएको छ । वासिङ्टन नबेल र भ्यालेन्सीयालेट सिफारिसको तयारी गरिएको राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्लेका प्राविधिक अधिकृत अमृत कटुवालले जानकारी दिनुभयो । २०१८ सालमा स्थापना भए यो कार्यालय नेपालको एक मात्र अमिलो जातको अनुसन्धान केन्द्रको रूपमा रहेको छ ।