• १ माघ २०८२, बिहिबार

लायन्स क्लबद्वारा लहानका विद्यालयमा स्वीटर वितरण

blog

श्री जनता माध्यमिक विद्यालय, बैरिया गुदीगाउँमा स्वीटर वितरण । तस्बिर : जीवछ यादव

जीवछ यादव
लहान, माघ १ गते ।
लायन्स क्लब अफ इन्टरनेशनलले लहान नगरपालिकाका तीन वटा सामुदायिक विद्यालयका करिब पाँच सय विपन्न बालबालिकालाई जाडो छल्न स्वीटर वितरण गरेको छ ।

लहान नगरपालिका वडा नं. ५ स्थित श्री नवकाली आधारभूत विद्यालय, वडा नं. १६ स्थित श्री जनता आधारभूत विद्यालय दौलतपुर तथा वडा नं. १० स्थित श्री जनता माध्यमिक विद्यालय बैरिया गुदीगाउँमा स्वीटर वितरण गरिएको हो ।

लायन्स क्लब अफ फूलवारी र लायन्स क्लब अफ सिटी लहानको आयोजनामा शीतलहरका कारण नियमित विद्यालय आउन नसकेका विपन्न बस्तीका बालबालिकालाई लक्षित गर्दै उक्त सहयोग गरिएको हो । कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेशनलका पास्ट गभर्नर तथा लहानस्थित रामकुमार शारडा–उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल र जेएस मुरारका बहुमुखी क्याम्पसका दाता परिवारका मुरारीलाल मुरारकाले स्वीटर वितरण गर्दै लायन्स क्लबको तर्फबाट लहानमा ब्लड बैंक स्थापना गरिने घोषणा गर्नुभयो ।

श्री जनता माध्यमिक विद्यालय, बैरिया गुदीगाउँमा बालविकासदेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीलाई स्वीटर वितरण गर्दै उहाँ भावुक हुनुभयो । सो अवसरमा उहाँले दुई जना दलित तथा विपन्न विद्यार्थीको उच्च शिक्षाका लागि लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने घोषणा पनि गर्नुभयो । सुकुम्बासी दलित बस्तीमा रहेको यस विद्यालयको भौतिक विकासका लागि प्रत्येक वर्ष केही न केही आर्थिक सहयोग गर्दै आएको उल्लेख गर्दै उहाँले शारडा र मुरारका परिवारले शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा हालसम्म अर्बौँ रुपैयाँ दान गरिसकेको र भविष्यमा पनि सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।

लहान नगरपालिकाको १७औँ नगरसभाबाट शारडा र मुरारका परिवारको योगदानको कदर गर्दै सम्मानित भएका मुरारीलाल मुरारकालाई स्वीटर वितरण कार्यक्रममा विद्यालयले दोसल्ला ओढाएर सम्मान गरेको विद्यालयका प्रधानाध्यापक रङ्गलाल साहले जानकारी दिनुभयो । उहाँले निरन्तर सहयोगका कारण विद्यालयको शैक्षिक तथा भौतिक विकासमा ठूलो टेवा पुगेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष उमेश कुमार विसुन्केले गर्मीमा पंखा तथा जाडोमा स्वीटर वितरणजस्ता सहयोगले विद्यालय परिवार निकै खुसी भएको बताउनुभयो । उहाँले विद्यालयको भौतिक विकास अन्तर्गत भवन निर्माण कार्यमा दाता तथा लहान नगरपालिकाबाट थप सहयोग हुने आशा व्यक्त गर्नुभयो ।