• १ माघ २०८२, बिहिबार

चाडपर्वले सुसंस्कृत समाज निर्माण गर्छः मुख्यमन्त्री बानियाँ

blog

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ । तस्बिरः अनिल पराजुली

अनिल पराजुली    
हेटौँडा, माघ १ गते ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले चाडपर्वहरूले सुसंस्कृत समाज निर्माणमा मद्दत गर्ने बताउनुभएको छ । माघे सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले चाडपर्वहरूले सामाजिक विभेद र विसङ्गतिहरू अन्त्य गर्दै समतामूलक एवम् सुसंस्कृत समाज निर्माण गर्न योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले चाडपर्व र संस्कृतिहरूको संरक्षण तथा संवर्धन सबैको दायित्व भएको उल्लेख गर्दै यसलाई विकसित गरेर राष्ट्रिय एकता र समृद्धिसहितको सामाजिक परिवर्तन संस्थागत गर्ने दिशामा प्रदेश सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विशेषताले समृद्ध राष्ट्र भएको बताउँदै मुख्यमन्त्री बानियाँले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान नेपालीहरूको साझा पहिचान रहेको उल्लेख गर्नुभयो । प्रदेशमा रहेका सबै समुदायका मौलिक संस्कृतिको सम्मान गर्दै सहअस्तित्व र एकता कायम राख्न सरकार सदैव तयार रहेको उहाँको भनाइ थियो । प्रदेशभित्र बसोबास गर्ने विभिन्न जातजातिका संस्कृतिको संरक्षण, प्रवर्धन र विकासका लागि आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता समेत मुख्यमन्त्री बानियाँले व्यक्त गर्नुभयो ।

माघ महिनाको १ गते परेको यस पर्वलाई थारु समुदायले माघीका रूपमा मनाउने तथा नयाँ वर्षका रूपमा ग्रहण गर्ने गर्छन् । मगर समुदायले पनि यसलाई प्रमुख चाडका रूपमा धुमधामसहित मनाउने परम्परा रहेको छ । साथै हिमाल, पहाड र तराईमा बस्ने विभिन्न जातजातिले आ–आफ्ना विशेषता र परम्परानुसार यो पर्व मनाउने गर्छन् । तरुल लगायतका कन्दमूल तथा घिउ, चाकु, तिलको लड्डु र खिचडीका परिकार सेवन गर्दै मनोरञ्जनपूर्वक खुसी साटासाट गर्ने यो पर्वले नेपालीबिच बन्धुत्व, सद्भाव र एकता कायम राख्न सहयोग पुर्‍याउँदै आएको बताइएको छ ।