• १ माघ २०८२, बिहिबार

जीवनोद्वारलाई राष्ट्रपति रनिङ शिल्ड

blog

रमेश विश्वकर्मा 
गुल्मी, माघ १ गते ।
गुल्मीको कालीगण्डकी गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जीवनोद्वार माध्यमिक विद्यालय प्रथम भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’’ भन्ने नारासहित गाउँपालिका स्तरीय विभिन्न विधाका खेलकुद प्रतियोगितामा उत्कृष्ट हुँदै वडा नम्बर–४ पुर्तिघाटस्थित जीवनोद्वार माध्यमिक विद्यालय प्रथम भएको गाउँपालिकाले जनाएको छ ।

तीन दिनसम्म सञ्चालन भएको सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम भएको यस विद्यालयले विभिन्न खेल विधामा सात स्वर्ण, पाँच रजत र सात कास्य गरी १९ पदक प्राप्त गरेको हो। द्वितीय भएको वडा नम्बर–७ छापचौरस्थित दुर्गा भवन माध्यमिक विद्यालयले पाँच स्वर्ण, चार रजत गरी नौ पदक प्राप्त गरेको छ । तृतीय भएको वडा नम्बर–६ खड्गकोटस्थित देउराली माध्यमिक विद्यालयले चार स्वर्ण, दुई रजत र छ कास्य गरी १२ पदक प्राप्त गरेको छ ।

प्रतियोगितामा पालिकाभित्रका नौ विद्यालयको सहभागिता थियो। लुम्बिनी प्रदेश सांसद तारा थापा, गाउँपालिका उपाध्यक्ष मञ्जु कुमारी दर्लामीलगायतले प्रतियोगितामा प्रथम भएको विद्यालयलाई शिल्ड, मेडल र प्रमाण पत्र, द्वितीय र तृतीय भएको विद्यालयलाई मेडल र प्रमाण पत्र प्रदान गर्नुभयो। जीवनोद्वार माध्यमिक विद्यालयको प्राङ्गणमा सो प्रतियोगिता भएको हो ।