रामकृष्ण बोहरा
बागलुङ, माघ १ गते । बागलुङ बजारमा सञ्चालित पानीपुरी तथा चटपट पसलले उपभोग गर्ने नहुने अखाद्य रङ मिसाउने गरेको भेटिएको छ । अनुगमनका क्रममा व्यवसायीले चटपट र पानीपुरी रंगाउन फुडकलर भन्दै अखाद्य रङ मिसाएको पाइएको हो ।
स्वास्थ्यमा प्रतिकुल असर पार्ने रङहरु निर्वाध प्रयोग गरेको भेटिएको बागलुङ नगरपालिका उपभोक्ता हित संरक्षण समितिले जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, बागलुङ नगरपालिका, उपभोक्ता मञ्च र उद्योग वाणिज्य संघ बागलुङले मङ्गलबार बजारका पानीपुरी, चटपट र केही रेष्टुरामा अनुगमन गरेको थियो ।
“चटपटलाई रातो बनाउनका लागि अखाद्य रङ मिसाएको पाइयो, बोतलमा विभिन्न रसायन मिलाएर राखिएको तरल पदार्थ हामीले भेटेजति नष्ट गरेका छौं” खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका प्रमुख सुमन लामिछानेले भन्नुभयो, “उपभोक्ता आँफैले पनि सचेत हुनुपर्छ, अखाद्य रङ मिसिएको खानेकुराले स्वास्थ्यमा गम्भीर असर गर्छ ।”
अनुगमनका क्रममा चटपट तथा पानीपुरी पसलमध्ये अधिकांशले फोहोर बोतलमा रातो देखिने गरी रङ तयार गरेर राख्ने र हप्तौंसम्म पनि त्यही रङको प्रयोग गर्ने गरेको पाइएको लामिछानेले बताउनुभयो । अनुगमन टोलीले पहिलो पटकका लागि अखाद्य रङ नष्ट गरेको र पुनः दोहोरिए कारबाही गर्ने चेतावनी दिइएको बागलुङ नगरपालिका उपभोक्ता हित संरक्षण समितिका सदस्य सचिव सरस्वती रेग्मीले जानकारी दिनुभयो ।
यस्तै बजारका रेष्टुराँहरुमा प्रयोग हुने तेल परीक्षणमा भने अधिकांशमा सन्तोषजनक नतिजा भेटिएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङले प्रविधिको प्रयोग गरेर गरेको परीक्षणमा सबैभन्दा राम्रो वेष्ट वान रेष्टुरेण्टमा तेल भेटिएको थियो भने मुखै रसायो खाजा घरको तेल भने नष्ट गर्नुपरेको रेग्मीले बताउनुभयो ।
चटपट तथा पानीपुरी व्यवसायीले अखाद्य रङको प्रयोग गर्ने गरेको, पत्रपत्रिकामा पोका पारेर बिक्री गर्ने गरेको लगायतका गुनासो उपभोक्ताबाट आएपछि अनुगमन गर्नुपरेको उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । उपभोक्ता हित विपरितका कार्य नगर्न व्यवसायीलाई सचेत गराईएको श्रेष्ठले जानकारी दिनुभयो ।