• १८ असार २०८१, मङ्गलबार

मानव अधिकारलाई अशुद्ध ठान्नु हुँदैन : अध्यक्ष ओली

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार २९ गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारलाई अशुद्ध ठान्न नहुने बताउनुभएको छ । मानव अधिकार विशुद्ध र अशुद्ध अनि आंशिक र पूर्ण नहुने तर्क गर्दै त्यस्तो भ्रान्तिमा नपर्न राष्ट्रिय मानव अधिकार आयोगलाई उहाँले सचेत गराउनुभयो । मानव अधिकार एलाइन्सले आज यहाँ आयोजना गरेको २३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले त्यस्तो टिप्पणी गर्नुभएको हो ।

मानव अधिकार आयोगका कुनै पनि सदस्यहरु उपस्थित नभएकोमा असन्तुष्टि व्यक्त गर्दै उहाँले आफूलाई सुनपानीले धोएको पवित्र मानव अधिकारवादी र हामीलाई मानव अधिकार उल्लङ्घनकर्ता ठान्ने भूल नगर्न पनि उहाँले चुनौती दिनुभयो । गृह मन्त्रालयजस्तो मन्त्रालय सम्हाल्दासमेत आफ्नो राजनीतिक जीवनका ५७ वर्षमा कहिल्यै पनि मानव अधिकार उल्लङ्घन गरेको दाग नलागेको उहाँले प्रष्ट पार्नुभयो । 

आफूले मानव अधिकारको उल्लङ्घन अहिलेसम्म नगरेको र अब पनि नगर्ने प्रतिबद्धता अध्यक्ष ओलीले व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले मानव अधिकारलाई राजनीतिक नियुक्तिको कार्यकाल, जागिरको रुपमा नलिई आदर्श, निष्ठा, यात्रा र गन्तव्यको रुपमा आफूले लिएको स्पष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, ‘मैले गृहमन्त्रीको हैसियतमा गृह मन्त्रालयजस्तो नियन्त्रण कायम गर्नुपर्ने मन्त्रालय पनि सम्हालिसकेको छु । म दावीसाथ के भन्न सक्छु भने यी ५७ वर्षदेखिको मेरो लडाइँ मूलतः मानव अधिकारका लागि हो ।’ 

“मानव अधिकार मेरो आदर्श हो । मेरो निष्ठा हो । मेरो उद्देश्य हो । मेरो गन्तव्य हो । मेरो यात्रा हो र मेरो गन्तव्य हो” अध्यक्ष ओलीले भन्नुभयो, “मानव अधिकार भनेको मानव अधिकार हो, त्यो अशुद्ध पनि हुँदैन । त्यसकारण मानव अधिकारलाई विशुद्ध र अशुद्ध, आंशिक र पूर्ण ठान्ने धारणा भ्रान्ति हो, त्यो सही धारणा होइन ।”