तानसेन समाचारदाता
तानसेन (पाल्पा), पुस ३० गते । माडी चक्रपथ निर्माण सुरु भएको छ । जिल्लाको तानसेन, माथागढी, बगनासकाली र रम्भा गाउँपालिकाका विभिन्न वडा छोएर निर्माण गरिएको माडी चक्रपथको स्तरोन्नति गर्ने काम एक दशकपछि सुरु भएको हो ।
आर्थिक वर्ष २०६९/७० सालमा ठेक्का भए पनि निर्माण व्यवसायी कोशी एन्ड न्यौपाने ओमसाई कन्स्ट्रक्सन प्रालिको लापर्बाहीले काम अगाडि बढेको थिएन । सडक स्तरोन्नति गर्न छ करोड दुई लाखमा ठेक्का पाएको निर्माण व्यवसायीले काम नगर्दा माडी चक्रपथ निर्माण अलपत्र परेको थियो । काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढेपछि नयाँ योजना अनुसार काम भइरहेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । ११ वर्षअघि नै माडी चक्रपथको ट्र्याक खुले पनि त्यसपछि सडक स्तरोन्नतिको काम भने भएको थिएन ।
एक दशक अलपत्र परेको सडक निर्माण गर्न सडक डिभिजन कार्यालय पाल्पाले गत वर्ष जेठमा चार करोड ८७ लाखमा ठेक्का निकालेको थियो । सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर पवित्रमणि आचार्यले ठेक्का अनुसार आगामी २०८३ वैशाख मसान्तभित्र काम सक्ने माडी चक्रपथ निर्माणको काम सुरु भएको जानकारी दिनुभयो । माडी चक्रपथको करिब २५ किलोमिटर सडकमध्ये साढे दुई किलोमिटर सडक यस वर्ष कालोपत्रे हुने छ । यस्तै तीन किलोमिटर नाली निर्माण, दुई वटा कलभर्ट निर्माण तथा दुई सय मिटर सडक ढलान गर्ने काम सम्पन्न हुने चरणमा रहेको आचार्यले बताउनुभयो ।
हाल तानसेनको वडा नं. ७ पक्लुवा, वडा नं. ६ को कुनसरे र वडा नं. ९ को दमकडा क्षेत्रमा कालोपत्रेका लागि बेस बनाउने, नाली निर्माण गर्ने र कलभर्ट निर्माण गर्ने काम भइरहेको छ । सडक निर्माण भएपछि तानसेनका तीन, बगनासकालीका तीन, माथागढीका तीन वटा वडा र रम्भाको एउटा वडाका बाासिन्दालाई यातायात सुविधा सहज हुने छ । यस्तै माडी क्षेत्रको बस्ती विकास, कृषि उपज वृद्धि तथा बजारीकरणमा पनि चक्रपथले सघाउने तानसेन–९का वडाध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयो । पछिल्लो समय माडी क्षेत्रमा बस्ती विकास हुने व्रmम बढेकाले ती बस्तीलाई समेत चक्रपथले फाइदा पुग्ने अपेक्षा गरिएको छ ।
पाल्पाको दोस्रो ठुलो उपत्यका माडीको विकासका लागि माडी चक्रपथ तत्कालै स्तरोन्नति हुनु आवश्यक रहेको अर्यालले बताउनुभयो । माडी चक्रपथको २५ किमीमध्ये दक्षिणतर्फको १२ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । माडी चक्रपथको खहरेदेखि दोहोरा फेदीसम्मको तीन किलोमिटर सडक माथागढी गाउँपालिकाले स्तरोन्नति गरिरहेको छ ।