• ३० पुस २०८२, बुधबार

जियाजोर–हिरापुर जोड्ने लखन्देही खोलाको पुल बर्खाअघि सकिने

blog

लालबन्दी नगरपालिका ११ र १२ लाई जोड्ने गरी लखन्देही खोलामा निर्माणाधीन पुल । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, पुस ३० गते ।
सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ११ हिरापुर र वडा नं. १२ जियाजोरलाई जोड्ने लखन्देही खोलाको निर्माणाधीन पुलको काम बर्खाअघि नै सम्पन्न हुने भएको छ ।

खोलामा पुल नहुँदा वर्षौदेखि सास्ती खेप्दै आएका स्थानीय तीव्रताका साथ पुल निर्माण भइरहँदा खुसी देखिन्छन् । जियाजोरका दीपक थापाले पुल निर्माण भइरहँदा अब बर्खायाममा बाढी आउँदा कहिँकतै जान नसक्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

थापाका अनुसार लखन्देही खोलामा पुल नहुँदा लालबन्दी नगरपालिका–१२, जियाजोर तथा हरिवन नगरपालिका १ र २ अत्रौली क्षेत्रका स्थानीयलाई बर्खायाममा लालबन्दीतर्फ आउनुपर्दा समस्या पर्ने गरेको थियो । “खोलामा पुल नहुँदा हाटबजार भर्न तथा तरकारी बेच्न लालबन्दी बजारसम्म पुर्‍याउन असाध्य समस्या छ,” थापाले भन्नुभयो, “यो पुल बन्ला र सजिलैसँग आउजाउ गर्न पाइएला भन्ने आशमा बसेका छौँ ।”

बर्खायाममा खोलामा बाढी आउँदा जियाजोर क्षेत्रका स्थानीय लालबन्दीतर्फ आउनुपर्दा हरिवन नगरपालिकाबाट घुमेर आउन बाध्य थिए । लालबन्दी नगरपालिका १२ का वडाध्यक्ष दुर्गाबहादुर आलेले लखन्देही खोलामा पुल सञ्चालन हुनासाथ यस क्षेत्रका स्थानीयलाई असाध्य सहज हुने बताउनुभयो ।

वडाध्यक्ष आलेका अनुसार यस क्षेत्रका अधिकांश स्थानीय तरकारी खेतीसहित कृषि पेशामा आवद्ध छन् । “पुल सञ्चालनमा आउनासाथ यहाँका तरकारी किसानलाई सहज ढङ्गले बजारसम्म तरकारी लैजान पाए ठुलो राहत मिल्थ्यो,” वडाध्यक्ष आलेले भन्नुभयो, “निर्माण व्यवसायीले बर्खायामअघि नै पुल बनाइसक्ने बताएकाले किसान र हामी सबै गाउँलेहरु खुसी छौँ ।”

एमआर एण्ड ग्रुप–वाइपी ज्वाइन्ट भेन्चरले लखन्देखी खोलामा पुल निर्माणको काम गरिरहेको हो । निर्माण कम्पनिका आधिकारिक व्यक्ति तथा इन्जिनियर सागर भट्टराईका अनुसार पुलको भौतिक प्रगति ८० प्रतिसतको हाराहारीमा पुगिसकेको छ ।

चुरेपाखा नजिकै लखन्देही खोलामा निर्माण हुन लागेको ४८५ मिटर लामो पुलको आठवटा स्ल्याप (स्पान) मध्ये छवटा स्ल्यापको ढलानसहितको काम पूरा भइसकेको इन्जिनियर भट्टराईले जानकारी दिनुभयो । सातौं स्ल्यापको काम पनि आधाउधी सकिएको र अब आठौं स्ल्यापको काम मात्र बाँकी रहेको निर्माण कम्पनिले जनाएको छ ।

२०८३ साउनसम्ममा पुल निर्माण सक्नुपर्ने गरी ७७ करोड ७८ लाख २३ हजार ९०० रुपियाँमा ठेक्का सम्झौता भएको छ । निर्माण कम्पनिले पुलको वरपर एक हजार १०० मिटर तटबन्ध निर्माण गर्नुपर्ने सम्झौता बमोजिम ८०० मिटर तटबन्धको कामसमेत पूरा भइसकेको इन्जिनियर भट्टराईले बताउनुभयो ।

भट्टराईका अनुसार पुललाई जोड्ने पहुँच सडक (एपरोच रोड) निर्माणका लागि अहिले माटोको काम जारी छ । “कुनै प्रकारको समस्या र अवरोध पैदा नभए त बर्खाअघि सबै काम सकेर पुल ह्यान्डओभर गर्ने योजनामै छौँ,” इन्जिनियर भट्टराईले भन्नुभयो, “सम्बन्धित निकायबाट काम गरेअनुसार भुक्तानी हुँदै गयो भने अहिलेकै स्पीडमा फटाफट काम गरेर सकाउने छौँ ।” भट्टराईका अनुसार निर्माण कम्पनिले २०७९ माघमा सम्झौता गरी पुल निर्माणको काम सुरु गरेको थियो ।