• ३० पुस २०८२, बुधबार

‘आर्ट इन हिमालयज–२०२६’ सुरु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ३० गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान समसामयिक चित्रकला विभाग, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग तथा इसेन्स अफ मुल-यानीको सहकार्यमा मङ्गलबार ‘आर्ट इन हिमालयज–२०२६’ अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र इसेन्स अफ मुल-यानीका प्रमुख लोरा डी. मर्फीले उद्घाटन गर्नुभयो ।  

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपालसँगै विदेशका कलाकारको कलाकृतिसँगै सांस्कृतिक आदानप्रदानमा यस प्रदर्शनीले थप सहयोग गर्ने बताउनुभयो । प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय बान्तवा राईले पूर्वीय बिम्ब, मिथकदेखि हिमाल, तराईका चित्रसमेत प्रदर्शनीमा समावेश भएको र यसले अन्तर्राष्ट्रिय भाइचारासमेत कायम गर्ने बताउनुभयो । 

आयरल्यान्डका कलाकार तथा इसेन्स अफ मुल-यानीका प्रमुख लोरा डी. मर्फीले नेपालमा आफू पहिलो पटक ३० वर्षअघि आएको समयदेखि हालसम्म नेपालले धेरै माया गरेको बताउँदै प्रदर्शनीमा सहभागी सबैले कलाकारप्रति आभार व्यक्त गर्नुभयो । प्रदर्शनीका क्युरेटर प्रदीप शाक्यले कलाको भाषा नै सञ्चारको सशक्त माध्यम रहेको बताउँदै प्रदर्शनीमा नेपालसँगै अन्य देशका प्रयोगात्मक कलासमेत समावेश भएको धारणा राख्नुभयो । 

प्रदर्शनीमा नेपाल, अमेरिका, अस्टे«लिया, बेलायत, डेनमार्क, क्यानडा र आयरल्यान्डका गरी १५ जना विदेशी कलाकारका ८० भन्दा बढी कलाकृति रहेका छन् । सो कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धर, प्रतिष्ठानका पदाधिकारी, इसेन्स अफ मुल¥यानीका नेपाल संयोजक डिल्ली तुलाधरसँगै अग्रज तथा नयाँ पुस्ताका कलाकार, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, पत्रकारलगायतको सहभागिता रहेको थियो । प्रदर्शनी माघ १ गतेसम्म चल्ने छ ।