• ३० पुस २०८२, बुधबार

ढोरपाटनको १८ औँ अधिवेशनबाट ५३ वटा योजना संशोधन

blog

ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा सम्पन्न भएको नगर सभाको १८ औँ अधिवेशन । तस्बिर सौजन्य ः पत्रकार छविलाल पाण्डे

नवराज नेपाली 
बागलुङ (गलकोट), पुस ३० गते ।
बागलुङ ढोरपाटन नगरपालिका नगर सभाको १८ औँ अधिवेशनबाट ५३ वटा  योजना संशोधन गरिएको हो ।

नगरसभाले १७ औँ सभाबाट पारित भएका कुल तीन करोड २८ लाख ७५ हजार बजेट बराबरको ३८ वटा कार्यक्रम, योजना संसोधन रकमान्तर गरेर ५३ वटा संशोधन योजना ल्याइएको हो ।

कुल ६१ करोड २८ लाख १७ हजार पाँच सय २९ रुपियाँको चालु आर्थिक वर्षमा बजेट लिएको पालिकाले हालसम्म २८ प्रतिशत वित्तीय प्रगति गर्न सफल भएको छ ।

नगरपालिकाका लागि जग्गा खरिद गर्न, लोकसेवा तयारी कक्षा, मेशिनरी औजार खरिद लगाएका ३८ वटा योजनालाई संशोधन र रकमान्तर गरिएको नगर सभाका अध्यक्ष धन बहादुर कायतद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरीएको छ ।

नगरपालिकाले फोहोर व्यवस्थापन स्थलको व्यवस्थापन, ढोरपाटन क्षेत्रको विकास, सडक निर्माण र स्तरोन्नती, खानेपानी, सिँडी निर्माण, विभिन्न भवन निर्माण लगायतका क्षेत्रमा बजेट रुपान्तरण गरेको पाइएको छ ।

नगरसभाका सदस्य दिलिप थापाले बोल्दै उत्तरगंगा माध्यमिक विद्यालयमा सौचालयका निम्ति बजेट व्यवस्थापन गरीएको तर सोही विद्यालय सहित अधिकांस सामुदायीक विद्यालयमा सरसफाई नभएको, सौचालय निकै दुर्गन्धित रहेका कारण सरसफाई सचेतना गराउन आवश्यक रहेको विषयमा सुझाव दिनुभएको थियोे ।

ज्ञानबहादुर भण्डारीद्वारा वडा नम्बर ६ मा रहेको जन चाहाना आधारभूत विद्यालयमा पालिकाको तर्फदेखि अनुगमन हुन नसकेको, विद्यालय व्यवस्थित बन्न नसकेको र प्रअको भूमिका जिम्मेवारीपूर्ण नरहेको विषयमा ध्यानाकर्षण गराउनुभएको थियोे ।

रुपान घर्तिद्वारा नमुना आधारभुत विद्यालयमा २ वटा प्रध्यानाध्यापक रहेको र कसलाई आधिकारीक मान्ने विषयमा नगरसभामा ध्यानाकर्षण गराउनुभएको थियोे  । वडा नम्बर २ का सदस्य चुडामणी जैसिले बोल्दै सबै वडामा नर्सरी व्यवस्थापन गर्नुपर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियोे भने नविन शेरचनद्वारा बुर्तिबाङ अस्पत्ताललाई पुनः बजेट विनीयोजन गरिएको विषयमा जिज्ञासा राख्नुभएको थियोे ।

सभाका सदस्यबाट उठेका प्रश्न जिज्ञासाको विषयमा सभा अध्यक्ष धनबहादुर कायतले प्रस्ट पार्दै सामुदायिक विद्यालयमा सरसफाई र सौचालय सरसफाईको विषयमा सम्बन्धित विद्यालयलाई अनुगमन मार्फत ध्यानाकर्षण गराउने र सबै जनप्रतिनिधि, विद्यालय व्यवस्थापनको जिम्मेवारी रहेको बताउनुभयो ।

जनचाहाना आधारभुत विद्यालयमा भइरहेको गैर जिम्मेवारीका विषयमा नगरपालिका गम्भीर रुपमा अगाडि बढेको र कार्वाही प्रक्रिया समेत अगाडि बढाइएको बताउनुभयो ।

त्यस्तै, बुर्तिबाङ अस्पतालमा पर्याप्त स्वास्थ्य कर्मी अझैपनी नहुँदा र करारका कर्मचारीलाई पारिश्रमिक भुक्तान गर्द बाँकी रहेको अवस्थामा यसै क्षेत्रका नागरिकले सेवा लिने अस्पताल भएका कारण अस्पतालको निवेदनका आधारमा चार लाख बजेट भुक्तान गर्ने गरेर बजेट व्यवस्था गरिएको छ ।

त्यस्तै, नमुना आधारभस्त विद्यालयमा दुई जना शिक्षकले प्रध्यानाध्यापक दाबी गरीरहेको अवस्थामा अदालतबाट आएको फैसला कार्यान्वयन हुने र विद्यालय व्यवस्थापन समिति गठन भइसकेका कारण समितिले चाँडै टुङ्गो लगाउने गरी  पालिकाको सहजिकरण भइरहेको कायतले बताउनुभयो ।

नर्सरी सबै वडा तहमा निर्माण गर्ने गरी कार्यक्रम ल्याइए पनि एक वटा मात्र निवेदन परेका कारण कार्यक्रम संशोधन रकमान्तर गरिएको बताउँदै वडा नम्बर २ रिनाम गाउँमा अनुदानमा राँगो उपलब्ध गराउन सकिने प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले बताउनुभयो ।