• ३० पुस २०८२, बुधबार

तनहुँका पाँच उत्कृष्ट कृषक र उद्यमी पुरस्कृत

blog

सम्मानित भएका उद्योगी तथा कृषकहरु । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की 
तनहुँ, पुस ३० गते ।
पसिना बगाएर माटोमा सुन फलाउने कृषक र आर्थिक समृद्धिको जग बसाल्ने उद्यमीहरूलाई तनहुँ उद्योग वाणिज्य सङ्घले  सम्मान गरेको छ । सङ्घको ४०औँ वार्षिक साधारण सभा तथा १८औँ महाधिवेशनको अवसरमा जिल्लाका पाँच जना उत्कृष्ट कृषक तथा उद्योगीहरू नगद पुरस्कारसहित हालै सम्मानित भएका हुन् ।

सम्मानित हुनेहरूमा सुन्तला खेतीबाट उदाहरणीय बनेका म्याग्दे–२ का शुकनारायण श्रेष्ठ (किसान जागरण सुन्तला बगैँचा फर्म), व्यावसायिक पोल्ट्रीमा जमेकी व्यास–१० की कालिका पौडेल (अनन्त पोल्ट्री एण्ड मल्टी एग्रिचर), पशुपालनमा सक्रिय व्यास–११ का जयबहादुर लामा (लामा कृषि तथा पशु फर्म), आँबुखैरेनी–१ का तारा अधिकारी (दीप तारा कृषि तथा पशु फर्म) र उद्योग क्षेत्रबाट व्यास–५ का सुबोध वाग्ले (सुबोध फुड्स) रहनुभएको छ ।

सम्मानित व्यक्तित्वहरूलाई दोसल्ला, सम्मानपत्र र नगद प्रदान गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले भन्नुभयो, “देशको अर्थतन्त्र उत्पादनशील क्षेत्रले नै धानेको छ । यस्ता कर्मशील हातहरूलाई गरिने सम्मानले नयाँ पुस्तालाई पनि कृषि र उद्योगमा लाग्न ठुलो प्रेरणा दिनेछ ।’’

सम्मान पाएपछि खुसी व्यक्त गर्दै सुन्तला कृषक शुकनारायण श्रेष्ठले यो सम्मानले आफ्नो जिम्मेवारी अझ बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “माटोमा गरेको मिहिनेतको यसरी सार्वजनिक रूपमा कदर हुँदा सबै दुःख बिर्सिइने रहेछ । यस्तो सम्मानले हामी जस्ता किसानलाई थप ऊर्जा र हौसला प्रदान गर्छ । राज्य र संघसंस्थाले वास्तविक किसानलाई चिनेर प्रोत्साहन गर्दा कृषि पेशाप्रति गौरव बोध हुन्छ ।’’

सङ्घका अध्यक्ष वैकुण्ठनाथ मिश्रले कृषि र उद्योग जिल्लाको आर्थिक मेरुदण्ड भएको चर्चा गर्दै मेहनती हातहरूलाई प्रोत्साहन गर्ने नीति अनुसार नै हरेक वर्ष सम्मान कार्यक्रमलाई निरन्तरता दिइएको स्पष्ट पार्नुभयो । जिल्लाभरका व्यवसायी र सरोकारवालाहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा सम्मानित कृषक र उद्यमीहरूलाई उनीहरूको निरन्तरको लगाव र सफलताका लागि उच्च प्रशंसा गरिएको थियो ।