• ३० पुस २०८२, बुधबार

इराकका लागि पुनः श्रम स्वीकृति सुरु

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, पुस ३० गते  । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इराकमा काम गरेर आधिकारिक आवासीय कार्ड ‘भ्यालिड रेसिडेन्सी कार्ड’ प्राप्त गरेका नेपाली श्रमिकलाई श्रम स्वीकृति दिन थालेको छ । 

विभिन्न माध्यमबाट इराक गएर इराकको आधिकारिक भिसामा काम गरिरहेका र घर बिदामा आएर पुनः जान चाहनेलाई श्रम स्वीकृति दिन थालेको हो । यही पुस ११ गते सरकार मन्त्रीपरिषद्को बैठकले इराकको आधिकारिक भिसा र ‘रेसिडेन्सी कार्ड’ भएका नेपालीलाई आवश्यक प्रक्रिया पु-याएर श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।

विभागले मङ्गलबार सूचना सार्वजानिक गर्दै इराकमा पुनः जानेका लागि श्रम स्वीकृति प्राप्त गर्न तोकिएको कागजातसहित वैदेशिक रोजगार व्यवस्थापन प्रणाली (फेमिस) मार्फत आवेदन दिन सक्ने जानकारी गराएको छ । सूचनामा इराकका लागि श्रम स्वीकृति लिनेले कम्तीमा तीन महिना म्याद भएको, राहदानी आधिकारिक भिसा, रोजगारदातासँगको करार सम्झौता, इराकको अध्यागमनले पासपोर्टमा लगाएको आगमन तथा प्रस्थान छाप, अभिमुखीकरण तालिम तथा मेडिकल गरेको प्रमाण, भिसा तथा करार सम्झौतासहित विभागमा सनाखतका लागि उपस्थिति हुनुपर्ने उल्लेख छ । 

यसअघि इराक नेपाल श्रमिकका लागि वैदेशिक रोजगारीका लागि प्रतिबन्धित वा जोखिमयुक्त मुलुकको सूचीमा राखिएका कारण त्यहाँबाट फर्किएका श्रमिकले श्रम स्वीकृति पाउन सकेका थिएनन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इराक सरकार कानुनमा वैध भएर काम गरेका तर नेपालको कानुनमा अवैध भएकालाई वैध बनाउने काम मात्रै गरेको हो । यो निर्णयले इराकमा नयाँ जानका लागि श्रम स्वीकृति नदिने पनि विभागले आफ्नो सूचनामा स्पष्ट पारेको छ । इराकको विभिन्न प्रतिष्ठित कम्पनीमा काम गर्ने झन्डै ३० हजार नेपाली कार्यरत छन् ।