• ३० पुस २०८२, बुधबार

नयाँ जनादेशबाट देशको समृद्धिः मुख्यमन्त्री शाह

blog

टीकापुर महोत्सव २०८२ लाई सम्वोधन गर्नुहुँदै मुख्यमन्त्री कमलबहमदुर शाह । तस्बिरः एकिन्द्र तिमिल्सेना

एकिन्द्र तिमिल्सेना

टीकापुर, पुस २९ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नयाँ जनादेशबाट मुलुकको समृद्धिको यात्रा अघि बढने बताउनुभएको छ । मङ्गलबार टीकापुर उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको टीकापुर महोत्सव २०८२  को उद्घाटन गर्दै मुख्यमन्त्री शाहले यस्तो बताउनुभएको हो । 

‘वि.सं. २०४६ साल र २०६३ सालको आन्दोलनबाट प्रजातान्त्रिक अधिकार लगायतका धेरै उपलब्धि पायौं तर सुशासनका विषयमा चुक्यौ, फलस्वरुप २०८२ भदौ २३ र २४ का घटना भयो’ मुख्यमन्त्री शाहले भन्नुभयो, ‘संविधानकै बाटोमा हिडेर संशोधन गरेर समृद्धिको चाहना पूरा हुन्छ । फागुन २१ गते हुने निर्वाचनबाट नयाँ जनादेश प्राप्त गरेर आउने नेतृत्वले यो कार्यभार पूरा गर्न निर्वाचन सम्पन्न गर्नतर्फ लागौं ।’ 

मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशमा जल जंगल र जमिन प्रयाप्त भएकाले यो क्षेत्रका विकासमा अपार सम्भावना भएकाले निजी क्षेत्रले उपयोग गर्न चाहेमा सुदूरपश्चिम प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो । 

मुख्यमन्त्री शाहसमक्ष आयोजकले टीकापुर विज्ञान प्रविधि विश्वविद्यालय ऐन छिटो आउनु पर्ने, यातायात व्यवस्था कार्यालय स्थापना हुनुपर्ने, खक्रौला भन्सारमा क्वारेन्टाइन स्थापना हुनुपर्ने, कर्णाली नदी नियन्त्रणमा निरन्तरता, केरा पकेट क्षेत्र घोषणा हुनुपर्ने, औद्योगिक क्षेत्र स्थापनाको माग राखेका छन् । 

मुख्यमन्त्री शाहले सबै मागहरु क्रमशः पूरा गर्न प्रतिवद्ध रहेको जनाउदै  शैक्षिक नगरीको नामले चिनिने टीकापुरमा सुदूरपश्चिम प्रदेश सरकारले टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्न मन्त्री परिषद्ले ऐन पारित गरी प्रदेश सभामा पठाएको, त्यहाँबाट पारित टीकापुरका लागि ठूलो उपलब्धि हुने र प्रदेश सरकारको आफ्नै विश्वविाद्यालय खोल्ने सपना पनि पूरा हुने बताउनुभयो । 

नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण वैद्यले प्रदेश सरकारले गरेका कामको मुल्याङ्कन नगरी विरोध भएकोमा चिन्ता व्यक्त गर्दै महोत्सवले मन्दीका बेला आर्थिक चलायमान बनाउने तर जोसुकैले कमाउने उद्देश्यले मेला लगाउने कार्य रोक्नुपर्ने सुझाव दिनुभयो ।  

टीकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा थारुले जातीय र प्राकृतिक विविधता भएको टीकापुरको विकासका लागि तीनवटै सरकारको साझा अवधारणा बनाउन नसकेको बताउनुभयो । 

त्यस्तै, टीकापुर हवाइ मैदान सञ्चालनका लागि गतवर्षको महोत्सवमा तत्कालीन पर्यटन मन्त्री र राज्य मन्त्रीले आश्वासन दिँदा आशावादी भए पनि दिगो सञ्चालनका लागि आवश्यक तयारी नभएको गुनासो गर्नुभयो । २०६५ सालदेखि वर्षेनी हुँदै आएको टीकापुर महोत्सवले राष्ट्रका महत्वपूर्ण व्यक्तिलाई बोलाउने र स्थानीय आवश्यकता पूरा गराउने काम गर्दैआएको छ ।