विजयकुमार साह
ढल्केबर, पुस २९ गते । नेपाल सद्भावना पार्टी र आम जनता पार्टीबीच औपचारिकरूपमा पार्टी एकीकरण भएको छ । रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टी र प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बीच मङ्गलबार धनुषाको महेन्द्रनगरमा आयोजित एक समारोहका बीच एकीकरण घोषणा गरिएको हो ।
एकीकरण घोषणासभामा दुवै दलका शीर्ष नेताले मधेश केन्द्रित राजनीति सशक्त बनाउने, जनताको अधिकार र पहिचानका सवाललाई एकताबद्ध भएर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागी नेताहरूले टुटफुट र विभाजनले मधेशवादी शक्तिलाई कमजोर बनाउँदै आएको उल्लेख गर्दै अब साझा राजनीतिक एजेन्डासहित अघि बढ्ने समय आएको बताउनुभयो ।
नेपाल सद्भावना पार्टीका अध्यक्ष महतोले मधेशका मुद्दा उठाउने शक्तिहरू एकजुट हुन नसक्दा जनताको अपेक्षा अनुसारको परिणाम आउन नसकेको स्वीकार गर्दै अहिलेको एकीकरण त्यसैको परिणाम भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो एकीकरण कुनै पद वा लाभका लागि होइन, मधेशको साझा भविष्यका लागि हो ।’
आम जनता पार्टी (आजपा) का अध्यक्ष साहले जनताको वास्तविक मुद्दालाई केन्द्रमा राखेर राजनीति गर्न एकीकरण अपरिहार्य भएको बताउनुभयो । उहाँले देशमा वैकल्पिक र सशक्त राजनीतिक शक्तिको आवश्यकता रहेको उल्लेख गर्दै नयाँ एकीकृत पार्टीले सुशासन, सामाजिक न्याय र समावेशी विकासलाई मुख्य एजेन्डा बनाउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘जनताले अब पुरानै शैलीको राजनीति होइन, परिणाम दिने राजनीति चाहेका छन् । यो एकीकरण जनआकांक्षाको सम्मान र नयाँ राजनीतिक यात्राको सुरुवात हो ।’