अविनाश चौधरी
धनगढी, पुस २९ गते । आर्थिक समस्या युवाको राजनीतिक तगारो रहेको धनगढीमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।
राष्ट्रिय निर्वाचन पर्यावेक्षण समिति (नियोक) ले आयोजना गरेको राजनीतिमा युवा पुस्ताको सहभागिताको चुनौती विषयक छलफल कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।
अधिकांशले युवा बेरोजगार रहेका कारण आर्थिक समस्याले राजनीतिमा अगाडि बढ्न नसकिरहेको बताएका छन् । खर्चिलो निर्वाचन प्रणाली अझ ठुलो तगारो बनेको उनीहरूको भनाइ छ ।
बझाङका युवा भरत बोहराले युवा बेरोजगार हुने गरेका कारण आर्थिक नै मुख्य चुनौती रहेको उल्लेख गर्नु भयो । उहाँले राजनीतिक दलहरुले आफूहरुलाई भोट बैँकको रूपमा मात्र हेर्ने गरेको युवाहरूको गुनासो छ भन्नु भयो ।
त्यस्तै, अर्का युवा सन्तोष रावलले नेपालको निर्वाचन प्रणाली नै अत्यन्त खर्चिलो रहेका कारण युवापुस्तालाई राजनीतिमा होमिन गाह्रो रहेको बताउनु भयो । उहाँले युवाहरू बेरोजगार भएका कारण चुनाव लड्ने हैसियत राख्न नसक्ने गरेको भन्दै थप्नु भयो, “युवालाई दलहरूले प्रचार प्रसार गर्न र पोस्टर टाँस्नमै सीमित राखेका छन् ।”
बाजुराका युवा चरित्र बुढाले विकट क्षेत्रमा राजनीतिक सचेतनाको कमी रहेको बताउनु भयो । अर्का युवा रेखा धानुकले समुदायमा सचेतना नभएका कारण राम्रोलाई भन्दा पनि हाम्रोलाई भोट हाल्ने परिपाटी हाबी रहेको जिकिर गर्नु भयो ।
राजनीतिक दलहरूले युवाकोे पालो नआउने गरी आफ्ना पार्टीको आन्तरिक विधान बनाएका कारण पनि युवालाई राजनीति गर्न सजिलो नरहेको औंल्याइएको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) का कार्यक्रम संयोजक प्रार्थना थापाले राजनीतिमा नातावाद, कृपावादका कारण युवाले अवसर पाउन नसकिरहेको उल्लेख गर्नु भयो । अभाव, अवसर नपाउने लगायतको कारणले युवापुस्ता डिप्रेसन र एनजाइटीको सिकार भइरहेको उहाँको भनाइ छ ।
फाया नेपालका शेरबहादुर बस्नेतले युवालाई राजनीति गर्न सजिलो नभए पनि असम्भव नरहेको बताउनु भयो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का निर्मल शाहले अहिलेको पुस्तामा राजनीतिक खाडल रहेको जिकिर गर्नु भयो । राजनीति पद्धति, चेइन अफ कमान्डमा चल्ने भएकाले सिद्धान्त र व्यवहारमा फरक रहेको उहाँको भनाइ छ ।
विद्यार्थी प्राप्ती भट्टले युवापुस्तामा राजनीति र कानुनको ज्ञान हुन जरुरी रहेको औंल्याउनु भयो । दलहरूले युवालाई विश्वास गर्न जरुरी रहेको नियोकको आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रममा नियोकका अध्यक्ष डा. गोपाल सिवाकोटीले अब मुलुकको भविष्य के हुने भन्ने चिन्ताको विषय रहेको बताउनु भयो ।