• २९ पुस २०८२, मङ्गलबार

सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ: सञ्चारमन्त्री खरेल

blog

फाइल तस्बिर

काठमाडौँ, पुस २९ गते ।सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन कार्यान्वयन गर्न धेरै खर्च नगरी सानै पहलमा पनि सुरुआत गर्न सकिने बताउनु भएको छ ।

उहाँले जेनजीको मुख्यमाग भनेकै सुशासन र भ्रष्टाचारविरुद्ध रहेको बताउँदै सबैले हरेक तहबाट राम्रो कामका थालनी गर्नु पर्ने बताउनु भयो । 

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आज निरीक्षणका क्रममा मन्त्री खरेलले जिल्ला प्रशासनले पछिल्लो समय गरेको प्रविधिमैत्री व्यवस्थाको प्रशंसा गर्नु भयो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले हाल सेवाग्राहीलाई पब्लिक अनाउन्समेन्ट सिस्टम (पिएसस) लागु गरेको छ । यो प्रणाली लागु भएपछि सेवाग्राहीलाई सेवा लिन सहज भएको छ ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सुशासन र नागरिक सरकारको भावना अनुरूप पिएसस प्रणाली प्रभावकारी रहेको जानकारी दिनु भयो ।

उहाँले दुई वर्षअघि दुई घण्टा लगाएर आफ्नो छोरीको नागरिकता लिनु परेको अनुभव सुनाउँदै अहिले प्रशासनबाट यो प्रणाली लागु भएपछि आधा घण्टामा सेवाग्राहीलाई नागरिकता प्रदान गर्न सकिएको बताउनु भयो ।

 उहाँले यो प्रणाली देशभरिकै जिल्ला प्रशासनमा लागु गर्न सके नागरिकले सुशासनको अनुभूति गर्न सक्ने धारणा राख्नु भयो ।सञ्चारमन्त्री खरेलले पिएसएस प्रणालीलाई देशव्यापी बनाउन मन्त्रिपरिषदमा प्रस्ताव राख्ने बताउनु भएको छ । उहाँले जेनजी आन्दोलनमा जलेको जिल्ला प्रशासनको भवन निरीक्षण गर्नु भएको थियो ।रासस