• २९ पुस २०८२, मङ्गलबार

फेरिँदै चिसापानी बजारको मुहार

blog

जन्तेढुङ्गा गाउँपालिकाको केन्द्र चिसापानी बजार क्षेत्र। तस्बिर : राजकुमार भट्टराई

राजकुमार भट्टराई

खोटाङ, पुस २९ गते। खोटाङको चिसापानी बजार क्षेत्रको सडक ढालनको काम धमाधम भइरहेको छ। साँघुरो र कच्ची सडकका कारण कुरूप रहेको चिसापानी बजार क्षेत्रको सडक ढलानको काम धमाधम भइरहेको हो।

जन्तेढुङ्गा गाउँपालिका–५, चिसापानी पालिकाको केन्द्रसमेत हो। खोटाङको पुरानो बजारमध्येको एक चिसापानी बजारले लामो समय पश्चात मुहार फेर्न लागेको छ। चिसापानी बजार ढलानका लागि भ्याटसहित १ करोड ४ लाख ४२ हजार ३३ रुपियाँमा वियान्सा अग्रिम जेभी निर्माण कम्पनीले जिम्मा लिएको छ। 

२०८२ चैत ३० गतेभित्र ढलानको काम सम्पन्न हुने गरी ०८२ असोज ५ गते ठेक्का सम्झौता भएको जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष अरुणादेवी राईले बताउनु भयो। धमाधम काम भइरहेकाले सम्झौता मितिमै काम सम्पन्न हुने देखिएको राईको भनाइ छ।

बजार ढलानको क्रममा केही समय अघि विवादसमेत भएको थियो। ढलानमा प्रयोग भएका समाग्री गुणस्तरहिन भएको भन्दै स्थानीयले आवाज उठाएका थिए। अनुगमनको क्रममा गाउँपालिकाका कर्मचारीमाथि हातपातसमेत भएको भन्दै विज्ञप्ति निकालिएको थियो। उक्त विवाद मिलेर अहिले धमाधम काम भइरहेको पालिका अध्यक्ष राईले बताउनु भयो।

बजार क्षेत्र भित्रको सडक साँघुरो रहेको र त्यसलाई फराक बनाउनेक्रममा पनि विवाद भएको थियो। सबै विवाद मिलाएर काम गराइएको उहाँको भनाइ छ। अबको केही महिना भित्रमा चिसापानी बजार क्षेत्र भित्रको पुरै सडक ढलान हुने अध्यक्ष राईले बताउनु भयो।