देवराम यादव
सप्तरी पुस २९ गते । सप्तरीको अग्नीसाइर कृष्णासवन गाउँपालिका १ स्थित जण्डोलमा प्रथम माघी सांस्कृतिक महोत्सव २०८२ हुने भएको छ ।
थारू समुदायको मौलिक सांस्कृतिक पर्व माघी पर्वको अवसरमा ठाकुरजी माविको खेलमैदानमा माघ १ गते सांस्कृतिक महोत्सव हुने भएको हो ।
प्रथम माघी सांस्कृतिक महोत्सव २०८२ मुल आयोजक समितिका संयोजक पुष्पा चौधरीले स्थानीय महिलाको सक्रियतामा महोत्सव आयोजना गर्न लागेको जानकारी दिनुभयो ।
महोत्सवमा कलश यात्रा, गौसाई गीत, पुजा, झाकी प्रदर्शन, नाटक, चुटकिला, कोमिक, पौराणिक गीत सङ्गीत प्रस्तुत गर्नुको साथै थारू खन पिनका परिकारको विभिन्न स्टलहरू राखिने उहाँको भनाइ छ ।
अग्नीसाइर कृष्णासवरन गाउँपालिका, वडा नम्बर १ को कार्यालय सहयोग तथा स्थानीय स्तरमा चन्दा सङ्कलन गरी आयोजना गर्न लागिएको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।
गाउँपालिका तथा आसपासको स्थानीय तहहरूबाट हजारौंको सङ्ख्यामा सहभागी हुने अपेक्षा गरिएको महोत्सवको उद्घाटन अग्नीसाइर कृष्णासवन गाउँपालिकाकी कार्यवाहक अध्यक्ष कल्पनाकुमारी चौधरीले गर्ने संयोजक चौधरीले जानकारी दिनुभयो ।
उहाँले बिहान ८ बजे कलशयात्रा निकालेर प्रारम्भ भएको महोत्सव साँझ ५ बजे समापन गरिने बताउनुभयो ।गाउँपालिका, स्थानीय प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सयौँ युवाहरूलाई स्वयंसेवकको रुपमा तयार गरि सुरक्षा व्यवस्था मिलाइएको स्वयंसेवकका संयोजक कल्पना कुमारी चौधरीको भनाइ छ ।
सुरक्षा व्यवस्थालाई मजबुत पारिएकोले ढुक्कसँग सहभागिता जनाइ कार्यक्रमलाई सफल पारिदिन उहाँले आग्रह गर्नुभयो । पूर्व विधायक सरस्वती चौधरीले थारू पौराणिक खानापिना, भाषा, भेषभुषा र संस्कृति जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।
उहाँले कार्यक्रममा थारू समुदायको सांस्कृतिक पर्व माघीको चिनारी र थारू समुदायको मौलिक संस्कृतिलाई उचाइमा पुर्याउन मदत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
महोत्सवमा सामाजिक विकृति न्यूनीकरण गर्न सन्देश दिने नाटक, पौराणिक गीत सङ्गीत स्थानीय महिला कलाकारहरूले प्रस्तुत गर्ने तथा थारू पौराणिक खाना घोगी, सितुवा, सिध्रा, तिल र भुजाको लडु, बगिया, तेलपाउ रोटी, माछामासु खानाको परिकारको स्टल र हलो, जुवा, कोदालो, जस्ता कृषि औजारहरू प्रदर्शनी गरिने छ ।
उहाँले स्थानीय महिला कलाकारहरूको प्रस्तुतिमा पाँच सय वर्ष पुरानो ऐतिहासिक नाटक सितली बेगारको प्रस्तुती हुने कार्यक्रम भएकोले अरु महोत्सवको तुलनामा फरक पाइने भएकोले थप रोचक र उत्साहजनक हुने बताउनुभयो ।