• २९ पुस २०८२, मङ्गलबार

प्रधानमन्त्रीको प्रेस सल्लाहकार रावल नियुक्त

blog

प्रधानमन्त्री सुशीला कार्कीको प्रेस सल्लाहकारमा नियुक्त हुनु भएका पत्रकार रामबहादुर रावल ।

काठमाडौँ, पुस २९ गते । सरकारले प्रधानमन्त्री सुशीला कार्कीको प्रेस सल्लाहकारमा रामबहादुर रावललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनु भयो । 

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् निर्णय सार्वजनिक गर्दै मन्त्री खरेलले भन्नु भयो, 'सम्माननीय प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रामबहादुर रावल (बाजुरा)लाई नियुक्त गर्ने निर्णय गरेको छ ।’

यसअघि रावल प्रधानमन्त्री कार्कीको प्रेस संयोजक नियुक्त हुनु भएको थियो । नेपाल खबर डटकमका सम्पादक रावल राजीनामा दिएर प्रधानमन्त्रीको संयोजक हुनु भएको हो । 

दृष्टि साप्ताहिकबाट पत्रकारिता प्रारम्भ गर्नु भएका रावलले नेपाल एफएम हुँदै कान्तिपुरको नेपाल म्यागजिन, कान्तिपुर टेलिभिजनमा समाचार को–अर्डिनेटर र ग्यालेक्सी फोरके टेलिभिजनको सम्पादक भएर काम गर्नु भएको थियो । पत्रकारिता क्षेत्रमा झन्डै दुई दशक काम गर्नु भएका रावल २०४० सालमा बाजुराको मार्तडीमा जन्मनु भएको हो । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नु भएका रावलले कानुनमा समेत स्नातक गर्नु भएको छ ।