• २९ पुस २०८२, मङ्गलबार

करदाता सेवा कार्यालय खारेज

blog

खारेज भएको कुश्मास्थित करदाता सेवा कार्यालय । तस्बिर सौजन्य : सञ्यज रेग्मी

रामकृष्ण बोहरा

बागलुङ, पुस २९ गते । पर्वत सदरमुकाम कुश्मा बजारस्थित करदाता सेवा कार्यालय खारेज भएको छ । नेपाल सरकारको निर्णय अनुसार दरबन्दी कटौती गर्ने, करारका कर्मचारी घटाउने नीति अनुसार करदाता सेवा कार्यालय खारेज भएको हो । 

करदाता सेवा कार्यालयको काम अब कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) ले गर्ने र विशेष प्रकृतिका काम बागलुङस्थित आन्तरिक राजश्व कार्यालयले गर्ने प्रमुख कर अधिकृत कपिल सिलवालले जानकारी दिनु भयो । यो कामका लागि प्रारम्भिक चरणको प्रक्रिया सुरु भइसकेको सिलवालको भनाइ छ । 

सिलवालका अनुसार पर्वतस्थित कोलेनिकाले स्थायी लेखा नम्बर जारी गर्ने, व्यक्तिगत र व्यावसायिक प्यान जारी गर्ने, आयकरमा दर्ता गर्ने काम गर्ने छ । त्यस्तै अन्तशुल्क दर्ता पनि कोलेनिकाबाट हुने छ। नेपाल सरकार अर्थमन्त्रालयबाट नेपाल राजपत्रमा प्रकाशित सूचना जारी भए अनुसारका इजाजतपत्र नवीकरण लगायतका काम पनि गर्ने छ । 

व्यक्तिगत प्यानबाट व्यवसायिक बनाउने, प्यान दर्ताका विवरण संशोधन गर्ने र दर्ता खारेजीका काम पनि गरिने छ । दर्ता भएका करदाताको अभिलेख कोलेनिकाले राख्ने भएको छ भने राजश्व सङ्कलनसँग सम्बन्धित भौचर संशोधन पनि कोलेनिकाले गर्ने छ । 

करदाताले कोलेनिका वा बागलुङस्थित आन्तरिक राजश्व कार्यालय रोजेर कारोबार गर्न पाउने व्यवस्था पनि छ । अनलाइनमार्फत काम गर्न पनि सकिने छ । 

केही कामका लागि भने पर्वतका करदाता बागलुङमै आउनु पर्ने भएको छ । विशेषगरी मूल्य अभिवृद्दि करमा दर्ता गर्ने, रूपान्तरण गर्ने, दर्ता खारेजी गर्ने, ३० लाखभन्दा बढी कारोबार गर्ने, वार्षिक ३ लाख नाफा भएको फर्मको करचुक्तादेखि करदताको कार्यालय स्थानान्तरण, बक्यौता लागत कट्टा गर्ने र विशेष प्रकृतिका अन्य काममा भने बागलुङ आउनै पर्ने भएको हो । यो विधिले राज्यको व्ययभार भने घट्ने जनाइएको छ । बागलुङस्थित आन्तरिक राजश्व कार्यालयले पर्वतसहित म्याग्दी र मुस्ताङ पनि हेर्ने गरेको छ ।