जीवछ यादव
लहान, पुस २९ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एकल सिफारिस भएका उम्मेदवारहरू आ–आफ्ना निर्वाचन क्षेत्रमा प्रचार–प्रसारमा व्यस्त देखिएका छन् ।
सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टीबाट क्रमशः एकल सिफारिस भएका रामचन्द्र यादव र सत्यनारायण यादव चुनावी गतिविधिमा सक्रिय हुनुहुन्छ । यसैगरी, सिराहा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका एकल सिफारिस उम्मेदवार रामचन्द्र यादव र निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका एकल सिफारिस उम्मेदवार लीलानाथ श्रेष्ठ अगुवा कार्यकर्ता भेलामा व्यस्त रहनु भएको छ ।
सिराहा–१ बाट एकपटक सांसद भइसकेका तथा संविधानसभा सदस्य एवम् सामान्य प्रशासन मन्त्रीसमेत भइसकेका भगवानपुर गाउँपालिका–२ का रामचन्द्र यादवले क्षेत्रका ४१ वटै वडामा वडा स्तरीय भेला गर्दै चुनावी तयारी गरिरहनुभएको बताउनुभयो । उहाँका अनुसार पार्टीको विचार र जनजीविकाका मुद्दालाई केन्द्रमा राखेर अगुवा कार्यकर्तालाई प्रशिक्षण दिइँदैछ ।
कम्युनिष्ट पृष्ठभूमिबाट राजनीति सुरु गरेका युवा नेता सत्यनारायण यादव जनता समाजवादी पार्टीका तर्फबाट सिराहा–१ का लागि एकल सिफारिस भएपछि चुनावी जनजागरणमा सक्रिय हुनुहुन्छ । उहाँले मदिरा र रकम बाँडेर चुनाव प्रभावित गर्ने प्रवृत्तिविरुद्ध अभियान चलाइरहेको बताउँदै अहिलेसम्म अधिकांश वडामा पुगिसकेको जानकारी दिनुभयो ।
सिराहा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका एकल सिफारिस उम्मेदवार रामचन्द्र यादवले धनगढीमाई नगरपालिकाको वडा नम्बर १४ अम्बासमा अगुवा कार्यकर्ता भेला गर्दै चुनावी अभियानको सुरुआत गरिसक्नुभएको छ । उक्त भेलामा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव र बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको उपस्थिति थियो । जनताको दुःख–सुखमा निरन्तर साथ दिँदै आएकोले यसपटक निर्वाचित हुनेमा आफू आशावादी रहेको उहाँले बताउनुभयो ।
यता सिराहा निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री लीलानाथ श्रेष्ठ एकल सिफारिस भएपछि आन्तरिक तयारीमा जुट्नुभएको छ । २०७४ र २०७९ मा निर्वाचित श्रेष्ठ तेस्रो कार्यकालका लागि चुनावी मैदानमा होमिनुभएको हो । सडक, शिक्षा, स्वास्थ्य र सामाजिक न्यायका क्षेत्रमा निरन्तर काम गरेकाले पुनः निर्वाचित हुनेमा ढुक्क रहेको उहाँको भनाइ छ ।
सिराहा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेबाट एकल सिफारिस भएका बिल्टु साहले पनि चुनावी सक्रियता बढाउन थाल्नुभएको छ । एकल सिफारिस नभएका दलका आकाङ्क्षी उम्मेदवारहरू भने औपचारिक रूपमा मौन देखिए पनि आन्तरिक रूपमा उम्मेदवार बन्ने तयारीमा जुटिरहेका छन् ।