• २९ पुस २०८२, मङ्गलबार

कोशी–गण्डकी पर्यटनमा सहकार्य

blog

गण्डकी र कोशी प्रदेशको पर्यटन प्रवर्धनबारे सोमबार पोखरामा भएको कार्यक्रममा सहभागीहरु । तस्बिरः गोरखापत्र

फडिन्द्र अधिकारी 
लेखनाथ, पुस २९ गते ।
गण्डकी र कोशी प्रदेशबिच पर्यटन प्रवर्धनमा आपसी सहकार्य गर्ने समझदारी भएको छ । पर्यटन राजधानी पोखरामा सोमबार आयोजित कार्यक्रममा दुई प्रदेशले पर्यटन विकास, पूर्वाधार निर्माण, पहुँच विस्तार र संस्थागत सहकार्यलाई सुदृढ बनाउने लक्ष्यसहित सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापत्रमा गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका निमित्त सचिव टीकाराम पौडेल र कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा ईन्द्रप्रसाद सापकोटाले हस्ताक्षर गर्नुभयो । अब दुवै प्रदेशले एक–अर्को प्रदेशको पर्यटन प्रवर्धनमा सघाउने र अनुभव साटासाट गर्ने छन् ।

सरकारी कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षकलाई लक्षित गरी अन्तर–प्रदेश भ्रमणका लागि विशेष योजना ल्याउने समझदारी भएको छ । यसका लागि सरकारी तहमा ‘इन्सेन्टिभ प्याकेज’ र निजी तथा व्यावसायिक क्षेत्रमा सुलभ दरका प्याकेज ल्याउन दुबै प्रदेशले आवश्यक पहल गर्ने भएका हुन् ।

गण्डकीको राजधानी पोखरा र पूर्वको प्रमुख सहर विराटनगरबिच सिधा हवाई सेवा सञ्चालन गर्नसमेत दुई प्रदेशले समन्वय गर्ने भएका छन् । धार्मिक पर्यटनलाई एकीकृत रूपमा विकास गर्न दुई प्रदेशबिच ‘धार्मिक पर्यटन सर्किट’ निर्माण गर्ने सहमति भएको गण्डकीका पर्यटन मन्त्री मित्रलाल बस्यालले बताउनुभयो । दुवै प्रदेशमा पर्यटनको ठुलो सम्भावना रहेकाले सहकार्यले आशातीत नतिजा ल्याउने उहाँको भनाइ छ । मन्त्री बस्याल भन्नुहुन्छ, “कुनै एक प्रदेशमा आएका पर्यटकलाई अर्को प्रदेशमा लैजान यो सम्झौता कोसेढुङ्गा सावित हुनेछ ।”

पहिलो चरणमा गण्डकीका मनकामना मन्दिर, मुक्तिनाथ मन्दिर र दामोदर कुण्ड तथा कोशी प्रदेशका पाथीभरा, बराहक्षेत्र र हलेसीलाई जोडेर पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पहल लिइनेछ । दुवै प्रदेशका होमस्टेहरूबिच भगिनी सम्बन्ध कायम गर्न अन्तर्राष्ट्रिय स्तरमा समेत संयुक्त रूपमा पर्यटन प्रवर्धनका गतिविधि लैजाने सहमति भएको हो ।

यो सम्झौतालाई कार्यान्वयन गर्न गण्डकी–कोशी पर्यटन प्रवर्धन समन्वय समिति गठन गरिने भएको छ । समितिको संयोजकमा सम्बन्धित प्रदेशका पर्यटन मन्त्री र सदस्य सचिवमा मन्त्रालयका सचिव आलोपालो रहने छन् । समितिमा पोखरा पर्यटन परिषदका अध्यक्ष, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, कोशी प्रदेश पर्यटन वर्ष २०८२ निर्देशक समितिका दुई जना सहसंयोजकहरू तथा पत्रकार महासंघ गण्डकी र कोशीका अध्यक्षहरू सदस्य रहने छन् ।

कार्यक्रममा कोशी प्रदेशका पर्यटन मन्त्री भीम पराजुलीले यो सहकार्यले दुवै प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । “सहकार्यमार्फत् पर्यटन प्रवर्धन र आर्थिक समृद्धिका लागि कोशी सरकार दत्तचित्त छ,” उहाँले भन्नुभयो ।