कुनै पनि राष्ट्रको उद्भव र विकासमा ऐतिहासिक योगदान दिने महान् व्यक्तित्व सधैँ गौरवको शिखरमा रहन्छन् । नेपालमा पृथ्वीनारायण शाह (विसं १७७९–१८३१) को योगदान सदैव त्यो स्थानमा छ; रहिरहने छ । इतिहासका कतिपय मोडमा केहीलाई विभ्रम हुन सक्छ तर देशका निम्ति राष्ट्रनिर्माताको योगदान बहुआयामिक छ । नेपाल ससाना राज्यमा बाँडिएको इतिहासको तथ्य हो । काठमाडौँ उपत्यकाभित्र पनि कान्तिपुर, भादगाउँ, कीर्तिपुर, पाटनलगायतका राज्य थिए । मकवानपुर र पूर्वका अनेक राज्यसँगै पश्चिमा बाइसे तथा चौबिसे राज्य थिए । त्यसैमा गोरखा सानो राज्य थियो । २० वर्षको कलकलाउँदो उमेरमा राजगद्दी चढेका पृथ्वीनारायणले राजकीय सुविधाभन्दा नेपाल एकीकरणको बृहत् जोखिमलाई आत्मसात् गर्नु सामान्य परिघटना होइन । ससाना क्षेत्र भिरकोट, कास्की, लमजुङ, गोरखाको राज्यमा उनको चित्त बुझेन, उनले एकीकरण अगाडि बढाए । आधुनिक नेपालको जगको मार्गचित्र कोरे । एकीकरण अभियान बढ्दै जाँदा नेपाल राज्यको सिमाना पूर्वमा टिस्टा, दक्षिणमा मगध र पश्चिममा सतलज नदी तथा काँगडासम्म पुगेको गौरवमय इतिहास छ । कालक्रममा सुगौली सन्धिले अहिलेको नेपालले स्वरूप लियो । त्यसबेला गोरखाका १२ सय घरधुरीबाट नेपाल एकीकरण अगाडि बढ्नु सामान्य इतिहास होइन । बिसे नगर्चीदेखि सबै जात र वर्गलाई एकीकरणका निम्ति एक ढिक्का पारेर सफलता चढ्दै जानु आजको सन्दर्भमा पनि राष्ट्रिय एकताको ठुलो सन्देश हो ।
बर्सेनि पुस २७ गतेलाई पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइन्छ । यस वर्ष पनि आइतबार राष्ट्रनिर्माताको सालिकमा पुष्पगुच्छा अर्पण गरी ३०४ औँ पृथ्वीजयन्ती मनाइयो । सङ्घीय सचिवालय सिंहदरबारको पश्चिमद्वारस्थित पृथ्वीनारायण शाहको सालिक समीपमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले राष्ट्रनिर्माताप्रति सम्मान व्यक्त गर्दै पुष्पगुच्छा अर्पण गर्नुभयो । त्यस अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतले सम्मानसहित पुष्पगुच्छा अर्पण गर्नुभयो । जनस्तरमा पृथ्वीनारायण शाहप्रति ठुलो सम्मान छ । यस्तो सम्मान अनेक अवसरमा देख्न सकिन्छ । आइतबार पनि राष्ट्रिय पोसाकसहित राष्ट्रिय झन्डा र राष्ट्रनिर्माताको तस्बिर अङ्कित ‘प्ले कार्ड’ बोकी भद्रकाली मन्दिरसहित सहरका विभिन्न स्थानबाट बाजागाजाका साथ निस्केको जुलुस सालिकमा पुगी समारोहमा परिणत भयो । तत्कालै विशिष्ट कार्यक्रममा भावपूर्ण सम्मान अर्पण गरियो । राष्ट्रनिर्माताको सम्मान देशभर अन्य धेरै कार्यक्रम आयोजना गरी योगदानको स्मरण गरियो । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले पृथ्वीनारायण शाहले ससाना टुव्रmामा छरिएर रहेका राज्यलाई एकीकरण गरेर आधुनिक नेपालको निर्माण गरेको स्पष्ट पार्नुभएको छ । एकीकरणको मर्म र भावनामा नेपाललाई आधुनिकतामा अग्रसर गराउनु अबको दायित्व छ । देशलाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रमा आधारित समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा समृद्ध बनाउनु छ ।
पृथ्वीनारायण शाहको योगदान देशलाई एकीकरण गर्नुमा मात्र सीमित छैन । देशको सुदृढ अर्थव्यवस्था, सुशासन, सन्तुलित कूटनीति, भ्रष्टाचारमुक्त समाजलगायतका अनेक क्षेत्रमा पृथ्वी सन्देश आधुनिक लोकतान्त्रिक नेपालका निम्तिसमेत उत्तिकै प्रिय र उपयोगी छ । ‘नेपाल दुई ढुङ्गाबिचको तरुल हो’ भन्ने पृथ्वी सन्देश अहिलेको भूराजनीतिक सन्तुलनका निम्ति अब्बल परराष्ट्र नीतिको प्रेरक आधारस्तम्भ हो । विश्व अनेक अवयवले अशान्त भएको अहिलेको परिवेशमा छिमेकीसँग सन्तुलन मिलाउँदै देशीय हितलाई अगाडि बढाउनु आवश्यक छ । खानी भएको ठाउँमा गाउँ भए पनि गाउँलाई अन्यत्र सार्नु पर्छ र खानी चलाउनु पर्छ भन्ने सन्देश पनि उत्तिकै उपयोगी छ । उब्जनीयोग्य जमिनमा भएको घर भत्काएर भए पनि त्यहाँ खेतीपाती गर्नु पर्छ भन्ने सन्देश झनै महत्वपूर्ण छ । उब्जाउ जमिनलाई घडेरी बनाएर विरूप सहरीकरणप्रति अब पनि योजनाविद् गम्भीर हुनै पर्छ । देशभित्रकै स्रोतसाधन र सिपबाट सबल अर्थतन्त्र निर्माणमा समेत उहाँको सन्देश अमूल्य देखिन्छ । राष्ट्रिय सिप र उद्यमको विकास गरी आयात होइन, निर्यात गरी देशलाई धनी बनाउन कति ठुलो पृथ्वी सन्देश छ ? घुस लिन्या र दिन्या दुवै राष्ट्रका शत्रु हुन् भन्ने भनाइले भ्रष्टाचार निर्मूलीकरणका साथै सुशासनमा ठुलो आधार मिल्छ । यसरी पृथ्वीनारायण शाहको योगदान राष्ट्र प्रेम, छिमेकी राष्ट्रहरूसँग असल कूटनीतिक सम्बन्ध, धर्म, संस्कृति र परम्पराको संरक्षण, जनकल्याण र राज्यको जिम्मेवारी, न्याय र सुशासन तथा राष्ट्रिय एकताको प्रवर्धनका निम्ति दीर्घ उपयोगी छन् । गोरखालाई राजधानी कायम नगरी काठमाडौँलाई राजधानी बनाई सिङ्गो नेपाल अनि नेपालीको गौरवका निम्ति पृथ्वी योगदान अमूल्य छ, रहिरहने छ ।