निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले निर्वाचन आयोगको यही २०८२ पुस १२ गतेको निर्णय अनुसार स्वीकृत निर्वाचन आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित भएको छ । निर्वाचन आचारसंहिताको दफा १७ मा निर्वाचनको मौन अवधिमा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । आउँदो फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति तोकिएको छ । फागुन १८ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुने कानुनी व्यवस्था छ ।
निर्वाचनमा मौन अवधि भनेको मतदान हुनुभन्दा ठिकअघि तोकिएको समय हो । जुन समयमा कुनै पनि प्रकारको चुनावी प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरिएको हुन्छ । मौन अवधिमा उम्मेदवार, दल वा दलका समर्थकले भाषण, जुलुस, विज्ञापन, सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरी मत माग्ने कुनै पनि गतिविधि गर्न पाउने अवस्था हुँदैन ।
मौन अवधिको उद्देश्य मतदाताले कुनै पनि दबाब, प्रभावबिना शान्त रूपमा सोचेर र विवेक प्रयोग गरेर मतदान गर्न सकून् भन्ने हो । मतदातालाई स्वतन्त्र, निष्पक्ष र दबाबरहित वातावरणमा मतदान गर्न सहयोग पुगोस् भन्ने ध्येयले मौन अवधिको व्यवस्था गरिएको हुन्छ ।
मतदातालाई सोच्ने समय दिनुपर्ने अर्थात् प्रचारप्रसारको चर्को माहोलबाट टाढा राखी मतदाताले शान्त मनले निर्णय गर्न पाउने वातावरण बनाउनुपर्ने हुन्छ । त्यसै गरी मतदातालाई आइपर्ने अनावश्यक दबाब र प्रभाव रोकी मतदानको अन्तिम समयमा हुने दल तथा उम्मेदवारको भड्किलो भाषण, झुटा आरोप, डरत्रास वा प्रलोभनबाट मतदातालाई जोगाउनु आवश्यक हुन्छ ।
स्वतन्त्र र निष्पक्ष मतदान सुनिश्चित गर्न अर्थात् कुनै दल वा उम्मेदवारको पक्षमा असमान प्रभाव नपरोस् भन्ने कुरा सुनिश्चित गर्न आवश्यक देखिन्छ । त्यसै गरी निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन गरी स्वस्थ लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन एवं समान प्रतिस्पर्धाको वातावरण सिर्जना गर्न तथा आर्थिक वा साङ्गठनिक रूपमा बलिया पक्षले अन्तिम घडीमा बढी प्रचार गरेर फाइदा लिन नपाओस् भन्ने उद्देश्यले पनि मौन अवधिको व्यवस्था आवश्यक पर्ने गर्छ ।
मतदान प्रक्रियालाई शान्त, मर्यादित र व्यवस्थित बनाउने र निर्वाचनसम्बन्धी हिंसा, झडप र विवाद कम गर्ने प्रयोजनले मौनको व्यवस्था गरिएको हुन्छ । मतदाताको निर्णयमा आत्मविश्वास बढाउन एवं निर्वाचन परिणामलाई जनस्वीकृत र विश्वसनीय बनाउने प्रयोजनले मौन अवधि राखिएको देखिन्छ । निर्वाचनमा मौन अवधि राख्नुका सकारात्मक र नकारात्मक दुवै पक्ष रहेका हुन्छन् । मौन अवधिले मतदातालाई शान्त रूपमा सोच्ने अवसर दिन्छ । अन्तिम क्षणको भड्किलो प्रचारप्रसारको रोकथाम गर्न सहयोग पुग्ने देखिन्छ । सबै उम्मेदवारलाई समान अवसर मिली शक्तिशाली पक्षको अनुचित दबाब र प्रभाव घट्ने अवस्था हुन्छ । मौन अवधिमा जुलुस, भाषण र भिडभाड नहुँदा झडप र तनाव कम भई निर्वाचन परिणामलाई जनताले बढी स्वीकार्ने वातावरण बनाउन सहयोग पुग्ने हुन्छ ।
मौन अवधिको नकारात्मक पक्ष पनि उत्तिकै रहेको हुन्छ । अन्तिम समयमा आएका महत्वपूर्ण तथ्य वा स्पष्टीकरण मतदातासम्म पुग्न नसक्ने जोखिम पनि रहन सक्छ । मौन अवधि भए पनि अनौपचारिक वा गोप्य रूपमा प्रचारप्रसार भइरहने सम्भावना रहेको हुन्छ । मौन अवधिको उल्लङ्घन भएकोमा निगरानी गरी कारबाही गर्न प्रशासनलाई चुनौती हुन्छ । यस अवधिलाई अभिव्यक्ति स्वतन्त्रतामाथि अस्थायी रोकका रूपमा लिन सक्ने अवस्था हुन सक्छ । नेपालको सन्दर्भमा भन्ने हो भने मौन अवधिमा मतदाता खरिदबिक्री गर्ने समयका रूपमा विकृत हुँदै आएको भनी निर्वाचन सरोकारवालाबाट आलोचना भएको पाइन्छ ।
अन्तर्राष्ट्रिय कानुनी व्यवस्था हेर्दा नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्धको धारा २५ ले प्रत्येक नागरिकलाई स्वतन्त्र र निष्पक्ष निर्वाचनमार्फत प्रतिनिधि छान्ने अधिकार सुनिश्चित गर्छ । त्यसैले निर्वाचनमा मौन अवधि यही धारा अन्तर्गत स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चित गर्ने सहायक व्यवस्थाका रूपमा स्वीकार गर्न सकिन्छ । भेनिस कमिसनले रिफ्लेक्सन पिरियड वा इलेक्सन साइलेन्सलाई लोकतान्त्रिक निर्वाचनको स्वीकार्य अभ्यास मानेको छ । यसले मौन अवधि अत्यधिक लामो हुनु नहुने कुरालाई जोड दिइएको पाइन्छ ।
विधिशास्त्रीय मान्यता अनुसार निर्वाचनको सबैभन्दा आधारभूत मान्यता भनेको निर्वाचन स्वतन्त्र, निष्पक्ष र विश्वसनीय हुनु पर्छ भन्ने हो । मौन अवधिले मतदातामा पर्ने अन्तिम क्षणको दबाब, भ्रामक प्रचार र असमान प्रभावलाई रोक्ने र निर्वाचन प्रक्रियाको शुद्धता कायम गर्न सहयोग पुग्छ भन्ने मान्यता रहेको छ । लोकतान्त्रिक सिद्धान्त अनुसार मतदाताले निर्वाचनमा स्वतन्त्र विवेक प्रयोग गर्न सक्षम हुनु पर्छ । मौन अवधिले मतदातालाई प्रचारप्रसारको प्रभावबाट अलग गरी सोच्ने समय दिन्छ र मतदाताको विवेकपूर्ण निर्णय गर्ने अधिकार सुरक्षित गर्छ भन्ने विश्वास पनि रहेको हुन्छ ।
निर्वाचनमा मौन अवधि लोकतन्त्रको रक्षा गर्न बनाइएको अस्थायी कानुनी उपकरण भएकाले यसले अभिव्यक्ति स्वतन्त्रता र निष्पक्ष निर्वाचनबिच सन्तुलन कायम गर्न सहयोग गर्छ । निर्वाचन केवल कानुनी प्रक्रिया मात्र नभएर नैतिक अभ्यास पनि हो । निर्वाचनमा मौन अवधिले मर्यादित, सभ्य र जिम्मेवार चुनावी संस्कृतिलाई प्रवर्धन गर्न सहयोग पुग्ने मान्यता रहेको छ । निर्वाचन आचारसंहिता, २०८२ मा मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरणको व्यवस्था रहेको छ । त्यस अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले मौन अवधिसम्बन्धी आचरण पालना गर्नुपर्ने प्रावधान छ ।
निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने प्रावधान छ । मतदान हुने दिनको ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटरवरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने हुन्छ । त्यसै गरी कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन । मौन अवधिमा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टिलिजेन्स एआई) को प्रयोग गरी वा नगरी सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न वा गराउन वा प्रतिक्रिया दिन नहुने व्यवस्था छ ।
आचारसंहिताले मतदानको दिन पालना गर्नुपर्ने आचरणको व्यवस्थासमेत गरेको छ । राजनीतिक दल, उम्मेदवार तथा दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिह्न वा मत सङ्केत भएको पहिरन वा ब्याच लगाउन नहुने एवं मतदान केन्द्रमा कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको साङ्केतिक पोसाक र चिजवस्तु लगाउन, बोक्न वा देखाउन नपाइने व्यवस्था छ । कुनै किसिमको सवारीसाधन प्रयोग गरी आवतजावत गर्न वा कसैलाई लैजाने वा ल्याउने गर्न नहुने, तर हिँडडुल गर्न नसक्ने गर्भवती महिला, सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, किरियापुत्री, शारीरिक रूपले अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक जस्ता मतदाताका लागि निर्वाचन अधिकृतले अनुमति दिएको सवारीसाधन प्रयोग गर्न बाधा नपर्ने प्रावधान रहेको छ । मतदाता तथा आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारीबाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न नहुने व्यवस्था आचारसंहिताले गरेको देखिन्छ ।
निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ को उपदफा (५) मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन हुँदैन भन्ने कानुनी व्यवस्था गरिएको छ ।
नेपालको सन्दर्भमा विगतका अभ्यास हेर्दा मौन अवधिको समयलाई अत्यन्त विकृत बनाइएको पाइन्छ । दल वा उम्मेदवारले तटस्थ मतदातालाई नगद वा जिन्सी वितरण गरेर दबाब, प्रभाव र प्रलोभनमा पारेर मत आफ्नो पक्षमा पार्ने गरेको भन्ने चौतर्फी आलोचना हुने गरेको छ । निर्वाचन आयोगसमेत आलोचित हुनु परेको अवस्था छ । मौन अवधिमा हुने अवाञ्छित गतिविधिलाई रोकी स्वतन्त्र, स्वच्छ र विश्वसनीय निर्वाचनलाई असर पु¥याउने खालका कार्य गर्ने दल तथा उम्मेदवारलाई निर्वाचन कसुर तथा सजाय ऐन तथा निर्वाचन आयोग ऐनबमोजिम हदैसम्मको कडा कारबाही गर्नुपर्ने हुन्छ र त्यस्ता उम्मेदवारको उम्मेदवारीसमेत खारेज गर्नु आवश्यक छ । त्यस कार्यका लागि प्रमाण सङ्कलन गर्न सूक्ष्म अनुगमन टोली खटाउनु जरुरी देखिन्छ । मौन अवधिमा मतदातालाई प्रलोभन र प्रभावमा पार्ने कार्यलाई रोकी मतदाताले आफ्नो विवेकको प्रयोग गरी योग्य र इमानदार उम्मेदवारको छनोट गर्ने वातावरण सिर्जना गर्न सबै निर्वाचन सरोकारवालाको सार्थक सहयोग र भूमिका आवश्यक देखिन्छ ।