• २९ पुस २०८२, मङ्गलबार

जलविद्युत आयोजनाको छलफलमा दुर्व्यवहार

blog

रवाङ–म्याग्दीखोला जलविद्युत आयोजनामा देखिएको अवरोध समाधानका लागि गरिएको छलफलमा सहभागीहरु । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल
म्याग्दी, पुस २९ गते ।
पश्चिम म्याग्दीको मालिका गाउँपालिका र धवलागिरी गाउँपालिकाको सिमानामा पर्ने खोलामा मोटरेबल पुल निर्माण गरिदिनु पर्ने माग गर्दै दरवाङ–म्याग्दीखोला जलविद्युत आयोजना बिहीबारदेखिको अवरोध सोमबारसम्म पनि कायमै रहेको छ ।

छलफलका क्रममा वातावरण असहज भएपछि कुनै पनि निर्णय बिनै बैठक सकिएको थियो । बैठकपछि प्रवर्धकहरुले भने आफूहरु माथि दुर्व्यवहार भएकाले छाडेर हिँडेको आरोप लगाएका छन् ।

जलविद्युत आयोजना बन्द गरेपछि समस्या समाधानका लागि सरोकारवाला निकायबिच सहजीकरणको प्रयास आइतबारदेखि भए पनि सोमबार पनि समस्या समाधान तर्फ नजाँदा अवरोध कायमै रहेको छ ।

मालिका गाउँपालिका वडा नं.–५ र धवलागिरी गाउँपालिका वडा नं.–७ को सिमानामा पर्ने दाङखोलामा निर्माण गर्ने भनिएको पुलको काम विगत ६ बर्षदेखि अलपत्र छ । पुल निर्माणको कार्य अलपत्र परेको भन्दै धवलागिरी गाउँपालिकाका जनप्रतिनिधिसहितको टोलीले आयोजनाको काम रोकेका थिए । आइतबार जलविद्युत आयोजनाको कार्यालय दुखुबेसीमा र सोमबार दाङखोलामा आयोजना गरिएको दुवै छलफल बिना निष्कर्ष टुङ्गिएको हो ।

पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दी र इन्द्रेणी–फेवा जे.भी. पोखराबिच वि.स. २०७६ जेठ २२ गते एक करोड ९३ लाख २९ हजार चार सय ५७ मा ठेक्का सम्झौता भएको थियो ।

पूर्वाधार कार्यालय म्याग्दीले ठेकेदारलाई पेश्की दिएको ३२ लाख धरौटीबाट फिर्ता गर्ने प्रक्रीया अगाडि बढाएपछि ठेकेदारले उच्च अदालत पोखरा बागलुङ इजलासको रिटमा मध्यस्तताबाट विवाद समाधान गर्न आदेश दिएपछि हाल मुद्दा विचाराधिन अवस्थामा रहेको छ । पुल कानुनी प्रक्रियामै अल्झिएमा अझै लामो समयसम्म नबन्ने निश्चित भएपछि छोटो प्रक्रियाबाट पुलको निर्माणकार्य अगाडि बढाउनुपर्नेमा धवलागिरी गाउँपालिकावासीको जोड रहेको छ ।

धौलागिरि कालिका हाइड्रोका अध्यक्ष विनोद कुँवरले पुल निर्माण स्थलमै छलफलमा सहभागी भएको भए पनि छलफल बिना निष्कर्ष टुङ्गीएको बताउनुभयो । उहाँले पुलका बारेमा समस्या समाधान र बास्तविकताका बारेमा जानकारी गराउने काम भए पनि समाधानको बाटो निस्कन नसकेपछि छलफल बिचमै रोकिएको बताउनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले जलविद्युत आयोजनालाई पनि असर नपर्ने र स्थानीयवासीको माग पनि पूरा हुने वातावरण बनाउन पहलकदमी लिएर सहजिकरण र समन्वय गर्नुपर्ने बताउनुभयो ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, मालिका गाउँपालिकाका पूर्व अध्यक्ष श्रीप्रसाद रोकाले जलविद्युत आयोजना र पुल दुवै निर्माण हुने वातावरण बनाइनु पर्नेमा जोड दिनुभएको थियो ।

धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले “सरकार अथवा जलविद्युत आयोजना जसले भए पनि एक महिनाभित्र दाङखोलामा पुल निर्माण सुरु हुनुपर्छ भन्ने धवलागिरी गाउँपालिकावासीको माग रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘आन्दोलनका कारण वि.स. २०७५ देखि निर्माण सुरु भएको ४० मेगावाट क्षमताको आयोजनाको निर्माण कार्य पुष २४ गतेदेखि ठप्प भएको छ ।’’