• २९ पुस २०८२, मङ्गलबार

‘नसर्ने रोग नियन्त्रण सरकारको प्राथमिकतामा’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २९ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्माले सरकारले नसर्ने रोगको रोकथाममा प्राथमिकता दिएको बताउनुभएको छ । नेपाल एनसिडी एलायन्सले आयोजना गरेको ‘नसर्ने रोग र मानसिक स्वास्थ्यसम्बन्धी’ अन्तर्राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले हाल सरकारको खर्चको सबैभन्दा ठुलो हिस्सा नसर्ने रोगको उपचारमा हुँदै आएको बताउनुभयो । क्यान्सर, मिर्गौला र मुटु जस्ता रोगको उपचारमा वार्षिक अर्बौं रुपियाँ खर्च गरिएको स्मरण गर्दै उहाँले यी रोगका लागि रोकथाममा भने कम प्राथमिकता रहेको बताउनुभयो । 

मन्त्री शर्माले स्वास्थ्य बिमा कार्यक्रममा देखिएको वित्तीय खाडल रोक्न बिमा कार्यक्रमलाई सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले बिमाका लागि ११ अर्ब रुपियाँ बजेट छुट्याएकोमा हालसम्मको खर्च २४ अर्ब पुगिसकेको बताउनुभयो । उहाँले अस्वस्थ जीवनशैली, खानपिनलगायत कारणले पछिल्लो समय नसर्ने रोगीको सङ्ख्या बढिरहेको बताउनुभयो । कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले नसर्ने रोग रोकथामका लागि जीवनशैली परिवर्तन गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले मानसिक स्वास्थ्य नदेखिने महामारीका रूपमा देखा परेको भन्दै जनचेतना, स्वस्थ जीवनशैली, खाद्य सुरक्षामा महानगरपालिकाले काम गरिरहेको बताउनुभयो ।

एनसिडी एलायन्सका अध्यक्ष 

डा. प्रकाशराज रेग्मीले नेपालमा नसर्ने रोग बढिरहेको भन्दै उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । नसर्ने रोग (एनसिडी) एलायन्स जेनेभाकी संयोजक लिन्डा सेंक मार्कोभाले नसर्ने रोगको प्रभावकारी रोकथाम गर्न सचेतना आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा भारत, श्रीलङ्का, बङ्गलादेश, माल्दिभ्स, इन्डोनेसिया, थाइल्यान्ड, म्यान्मार, मलेसिया, जेनेभालगायत ११ देशका नसर्ने रोगसँग सम्बन्धित काम गर्ने व्यक्ति तथा संस्थाका प्रतिनिधिको सहभागिता थियो ।