• २९ पुस २०८२, मङ्गलबार

मध्यमार्गी निकास खोज्न गृहकार्य

blog

गोरखापत्र समाचारदाता 

ललितपुर, पुस २९ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मङ्गलबार बस्ने भएको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार समसामयिक राजनीतिक विषयमा परामर्श गर्न बैठक बस्ने भएको हो । बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । 

बैठकमा विशेष महाधिवेशन आह्वानपछि उत्पन्न परिस्थितिबारे छलफल हुने छ । कांग्रेसको दोस्रो विशेष महाधिवेशन चलिरहँदा पार्टीभित्र उत्पन्न परिस्थितिबारे सभापति शेरबहादुर देउवाले सोमबार पनि चरणबद्ध छलफल गर्नुभएको छ । उहाँले कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासहित पार्टीका प्रभावशाली नेतासँग संवाद गर्नुभएको हो । छलफलका लागि पदाधिकारी र केन्द्रीय सदस्य सभापति देउवा निवास महाराजगन्जमा जुट्नुभएको थियो । पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाका अनुसार सहमति जुटाउने प्रयास जारी छ । उहाँले संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबिच संवाद गरेर निर्णयमा पुग्ने र पार्टीमा देखिएको समस्या समाधान गरिने बताउनुभयो । 

कांग्रेस केन्द्रीय सदस्य एवं सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार विशेष महाधिवेशनपछि पार्टीमा उत्पन्न विग्रहलाई समाधान दिने र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग संवाद गर्ने विषयमा छलफल भएको छ । उहाँले कांग्रेसभित्र अहिले केही आन्तरिक अप्ठ्यारा देखा परेको र त्यसको निराकरणका लागि संवाद भएको बताउनुभयो । उहाँले २०८३ वैशाखका लागि नियमित १५ औँ महाधिवेशन तय भएकै बेला विशेष महाधिवेशन आयोजना हुँदा त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल भएको बताउनुभयो । 

उहाँले पार्टी केन्द्रीय कार्यसमितिले औपचारिक रूपमा आह्वानपश्चात् निर्णय गरेर विशेष महाधिवेशन आयोजना गरिएको भए त्यो पार्टीको नियमित विशेष महाधिवेशन वा वैधानिक नियमित महाधिवेशन हुने बताउनुभयो । उहाँले भन्नुभयो, “तर नियमित महाधिवेशन पनि भएन र त्यो विशेष महाधिवेशनले वैधानिकता पनि पाएन । यस्तो बेलामा कतै पार्टी अप्ठ्यारोमा त पर्ने होइन, विभाजन त हुने होइन भन्ने आशङ्का चाहिँ व्यापक रूपमा उत्पन्न भइसकेपछि सभापतिले पार्टीलाई व्यवस्थित गर्नका लागि परामर्श गर्नुभएको हो ।”

नेता विश्वकर्माले सबैसँग परामर्श गर्न र पार्टीको अत्यन्तै सङ्कटकालीन अवस्थामा एकढिक्का कसरी राख्न सकिन्छ भनेर सभापति देउवाले केन्द्रीय कार्यसमितिका पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यसँग सल्लाह लिनुभएको बताउनुभयो । उहाँले विशेष महाधिवेशनको बन्दसत्रलाई सार्थक तुल्याउने, विधिसम्मत बनाउने र निष्कर्षमा पु¥याउने सन्दर्भमा पनि छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “जे जे प्रक्रिया अगाडि बढेको छ, त्यो प्रक्रियालाई विधिसम्मत ढङ्गबाट टुङ्ग्याउने र कांग्रेस पार्टी सिङ्गो रहने बाटोको खोजीमा हामी छौँ ।”

‘मिलाएर अघि बढ्नु पर्छ’

नेता विश्वकर्माले सभापति देउवासँगको पार्टीलाई एकरूपता दिन, एकढिक्का राख्नका लागि पहल गर्न र मिलाएर अघि बढ्न आग्रह गरिएको बताउनुभयो । उहाँले संवादका माध्यमबाट पार्टीलाई एकता कायम राख्नका लागि लचकता अपनाउन र अरूसँग पनि थप विश्वासिलो भरपर्दो संवाद गर्नका लागि अनुरोध गरेको बताउनुभयो । उहाँका अनुसार सभापति देउवा, कार्यवाहक सभापति खड्कासहित शीर्ष नेता चरणबद्ध रूपमा छलफलमा रहनुभएको छ । उहाँले भन्नुभयो, “विशेष महाधिवेशनमा उपस्थित भएका साथीको सम्मानका लागि यसलाई कसरी शान्तिपूर्ण ढङ्गबाट निष्कर्षमा पु¥याउन सकिन्छ भन्ने छलफल हो । त्यसको निष्कर्ष भनेको पार्टी एकता हो । पार्टीलाई वैधानिक रूपले अगाडि बढाउने नै हो ।” 

नेता विश्वकर्माले संवादका लागि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित विशेष महाधिवेशन पक्षधर नेताहरू पनि सकारात्मक रहेको बताउनुभयो । उहाँले पार्टी नेताहरू विभाजनको पक्षमा नरहेको प्रस्ट पार्दै दुवैतर्फले पार्टीलाई एकता कायम गर्ने पक्षमा संवाद अघि बढाउने बताउनुभयो । 

‘कांग्रेस एकताबद्ध बनाउनु पर्छ’ 

कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार विज्ञप्तिमार्फत प्रतिनिधि सभा निर्वाचनमा सम्पूर्ण पार्टी पङ्क्ति एकताबद्ध भई अभियानका रूपमा लाग्न आवश्यक रहेको बताउनुभएको छ । उहाँले सबै मिलेर देशको विषम परिस्थितिप्रति गम्भीर हुँदै पार्टीभित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरुरी रहेको बताउनुभएको छ । उहाँले यस अवस्थामा पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न सम्बन्धित सबैमा अपिल गर्नुभएको छ । 

डा. कोइराला पनि परामर्शमा 

विशेष महाधिवेशनपछि उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न र पार्टी एकताबद्ध राख्न शीर्ष नेता पहल गरिरहनुभएको छ । नेता डा. शेखर कोइरालाले पार्टीलाई एकताबद्ध गर्न प्रतिबद्ध रहेको बताउनुभयो । सभापति देउवासँगको छलफलमा पनि उहाँले विशेष महाधिवेशनका सन्दर्भमा मध्यमार्गी निकास निकाल्नुपर्ने बताउनुभयो । उहाँले आफूनिकट नेतासँगको छलफलमा पार्टी एकताबद्ध बनाउनका लागि सबैसँग संवाद गरिरहेको बताउनुभयो ।