• २८ पुस २०८२, सोमबार

नवलपुरमा थारू माघीको रौनक

blog

थारू नृत्य प्रस्तुत गर्दै थारू महिला ।

ज्ञानु पंगेनी 

मध्यविन्दु, पुस २८ गते । नवलपुरमा थारू समुदायको नयाँ वर्ष (माघी पर्व) को रौनक छाएको छ । थारू समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ मनाउने गर्छ । 

थारू समुदायमा स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने प्रचलन छ । नवलपुर जिल्ला थारू समुदायको बाहुल्यता रहेको जिल्ला भएकाले पनि यहाँ माघी सुरु हुनुभन्दा एक हप्ता अघिदेखि नै माघीको रौनक सुरु हुन्छ । 

जिल्लाको कावासोती, देवचुली, मध्यविन्दु, गैंडाकोट नगरपालिकाको विभिन्न ठाउँ डण्डा, पिठौली, अमलटारी, कोल्हुवा, प्रसौनी, पिप्रहर लगायतको विभिन्न स्थानमा माघीको अवसरमा खिचडी महोत्सव, झाम्टा नाच, लाठी नाच लगायत सांस्कृतिक कार्यक्रम तथा थारू समुदायको मौलिक खेल भोदी खेल प्रतियोगिता, स्लो साइकल रेस, कुर्ची दौड, फुटबल, भलिबल लगायतका विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गरिएका छन् । 

थारू, बोटे, माझी समुदायले सञ्चालन गर्दैआएको कावासोती –१५ मा रहेको अमलटारी घरबास (होम स्टेमा) माघीको रौनक छ । यस समयमा यहाँ आउने पर्यटकले थारू समुदायको सांस्कृतिक कार्यक्रमको मनोरञ्जनमा सरिक हुन पाएका छन् । घोंङ्घी, माछा, चिच्चर लगायतका परम्परागत खानाको स्वाद लिँदै माघी पर्वको रौनकमा रमाएका छन् ।

पर्यटन समिति नवलपुरको अध्यक्ष फंसराम महतोका अनुसार जिल्लाका सबै पालिकामा माघीका विषेश कार्यक्रम राखिएको छ । एक हप्ता अघिदेखि नै खिचडी महोत्सव लगायत शुभकामना आदान प्रदानको कार्यक्रम भइराखेको उहाँले बताउनुभयो ।

सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायले नयाँ वर्ष अर्थात् माघी पर्व मनाउने गर्दछन् । माघ एक गतदेखि तीन दिनसम्म धुमधामका साथ नवलपुरमा यो पर्व मनाइन्छ । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजागरी ठुलाबडाकहाँ गएर आशीर्वाद लिने परम्परा छ । 

बेलुका घरमा मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्ने परम्परा रहेको अमलटारी घरबास (होम स्टेका) अध्यक्ष प्रेमशङ्कर मर्दनिया थारूले बताउनुभयो ।