• २८ पुस २०८२, सोमबार

इरानको अवस्थाप्रति संयुक्त राष्ट्रसङ्घको चासो, संयम र सूचना पहुँच सुनिश्चित गर्न आह्वान

blog

संयुक्त राष्ट्रसङ्घ, पुस २८ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरानी अधिकारीलाई अत्यधिक संयम अपनाउन र देशभित्र सूचना पहुँच सुनिश्चित गर्न आग्रह गर्नु भएको छ । आइतबार महासचिवका प्रवक्ताले उक्त जानकारी दिनु भएको छ ।

महासचिवका प्रवक्ता स्टेफान दुजारिकले जारी गरेको वक्तव्यमा भनिएको छ, “महासचिवले इरानी अधिकारीलाई अत्यन्त संयम अपनाउन तथा अनावश्यक बल प्रयोग नगर्न आग्रह गर्नु भएको छ ।” वक्तव्यमा इरानभित्र सूचना प्रवाह सहज बनाउने कदम चाल्न, विशेष गरी अवरुद्ध सञ्चार सेवा पुनः स्थापना गर्न पनि महासचिवले आग्रह गरेको उल्लेख गरिएको छ ।

गत डिसेम्बरको अन्त्यदेखि इरानका विभिन्न सहरमा प्रदर्शन सुरु भएका छन् । राष्ट्रिय मुद्राको मूल्य तीव्र रूपमा घट्नु र लामो समयदेखि कायम आर्थिक कठिनाइका कारण जनआक्रोश बढेको बताइएको छ । इरानी अधिकारीले प्रदर्शन भएको स्वीकार गर्दै आर्थिक गुनासा समाधान गर्न इच्छुक रहेको जनाएका छन्, यद्यपि हिंसा र तोडफोडप्रति चेतावनी दिएका छन् ।

शुक्रबार टेलिभिजनमार्फत राष्ट्रलाई सम्बोधन गर्दै इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले राष्ट्रिय एकता कायम राख्न नागरिकलाई आग्रह गर्नु भएका थिए । उहाँले केही प्रदर्शनकारीले संयुक्त राज्य अमेरिकालाई खुसी पार्ने प्रयास गरिरहेको आरोप पनि लगाएका थिए । प्रदर्शनका क्रममा प्रहरी र सरकारद्वारा ‘उपद्रवी’ भनिएका समूहबिच झडप भएको र त्यसमा केही मानिसको ज्यान गएको खबर आएको छ । 

तर हालसम्म मृतकको आधिकारिक सङ्ख्या सार्वजनिक गरिएको छैन । संयुक्त राष्ट्रसङ्घले इरानको अवस्थालाई नजिकबाट नियालिरहेको र सबै पक्षलाई शान्ति, संवाद तथा मानवअधिकारको सम्मान गर्न आग्रह गरिरहेको जनाएको छ । रासस/सिन्ह्वा