राजनीतिमा व्याप्त भ्रष्टाचारको अन्त्य तथा सुशासनको स्थापना, राजनीतिबाट परिवारवादको अन्त्य र देशभित्रै रोजगारको अवस्था सिर्जना गर्ने घोषित लक्ष्य लिएर भदौ महिनाको अन्तिम साता भएको जेनजी आन्दोलनले नेपालको राजनीतिमा अभूतपूर्व पराकम्पन ल्याइदिएको थियो । देशका स्थापित एवं पुराना राजनीतिक दलहरू पनि आफ्नो सङ्गठनभित्र जेनजी नामक छुट्टै भ्रातृ सङ्गठन नै खोल्न थाले । यस्तो पहल देशका नवयुवा र युवाप्रतिको स्नेह र सदाशयताका कारण भयो कि अवसरवादी राजनीतिको यो एउटा सानो दाउपेच मात्रै थियो, त्यो त प्रस्ट भएन तर देशका राजनीतिक दलहरूले फागुन २१ गते हुन लागेको निर्वाचनमा आआफ्नो दलबाट निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारहरूको सूचीमा युवालाई केवल साङ्केतिक प्रतिनिधित्व मात्रै गराए । अधिकांश दलको मानसिकतामा कुनै खासै परिवर्तन आएको देखिएन ।
देशका ठुला दल मात्रै होइन, तराई मधेशका समस्याको समाधान गर्ने घोषित लक्ष्यसहित खोलिएका मधेशी दलहरू त जेनजी आन्दोलनको मर्म र भावनाको बिलकुलै सम्मान गरेनन् । चुनावको समयमा मिलेर जाने तर चुनावी सफलतापछि पद, स्वार्थ र सत्ताका लागि छुट्टाछुट्टै दल खोज्ने प्रवृत्ति अथवा मनोवृत्ति मधेशी दलका नेतामा कायमै रहेको छ । एक पटक फेरि पनि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबिच पार्टी एकीकरण हुने अथवा मोर्चा बन्ने निश्चित जस्तै छ तर यो एकीकरण पनि बढी दिनसम्म टिक्न सक्ला जस्तो लाग्दैन । कतै यो एकीकरण पनि केही ठुला भनिएका मधेशी दलका नेताहरूलाई चुनाव जित्नमा सहज होस् भन्ने उद्देश्यले मात्रै भइरहेको त छैन ? भन्ने चर्चा व्यापक छ । मधेश र मधेशी जनताको आर्थिक–सामाजिक अवस्थामा परिवर्तन ल्याउने उद्देश्यले त यो एकीकरण पक्कै पनि भएको छैन । अवश्य नै यसको अभीष्ट भनेको केही नेतालाई चुनाव जिताउनु मात्रै हो । मधेशी दलहरूमा अहिलेसम्म भएका विभाजन र विगतका निर्वाचनमा यसले गरेका प्रदर्शनबारे विवेचना हुनु समयसापेक्ष देखिन्छ ।
नेपालमा बहुदलीय व्यवस्थाको स्थापनापछि २०४८ सालमा भएको आमनिर्वाचनमा गजेन्द्रनारायण सिंह नेतृत्वको एक मात्र मधेशी दल नेपाल सद्भावना पार्टीले ७५ उम्मेदवार खडा गरेकोमा पार्टीका छ जना उम्मेदवार चुनाव जित्न सफल भएका थिए । पार्टीले ४.१० प्रतिशत मत ल्याएको थियो । विसं २०५१ मा भएको मध्यावधि निर्वाचनमा नेपाल सद्भावना पार्टीलाई ठुलो धक्का लाग्यो । पार्टीले दुई लाख ६५ हजार ८४७ मत मात्रै ल्याउन सक्यो । यो कुल मतको ३.४९ प्रतिशत थियो । विसं २०५६ मा भएको आमनिर्वाचनमा नेपाल सद्भावना पार्टीले दुई लाख ७७ हजार २३९ मत ल्याउन सक्यो । यो कुल मतको ३.२२ प्रतिशत थियो । पार्टीको मतमा केही वृद्धि भयो ।
जनआन्दोलन–२ को सफलतापश्चात् २०६४ सालको संविधान सभा निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपालले समानुपातिकतर्फ छ लाख ७८ हजार ३२७ मत ल्याएको थियो । जुन कुल मतको ६.३२ प्रतिशत थियो । पार्टीले २२ सिट हासिल ग¥यो । प्रत्यक्ष तर्फ पार्टीले छ लाख ३४ हजार १५४ मत ल्याई ३० सिट जित्न सफल भएको थियो । यो कुल मतको ६.१५ प्रतिशत थियो । वामपन्थी पृष्ठभूमिका यादवको नेतृत्वको यो ऐतिहासिक सफलता थियो । यसले राष्ट्रिय राजनीतिमा पनि उनलाई स्थापित गर्ने काम ग¥यो । सोही चुनावमा नेपाली कांग्रेस पृष्ठभूमिका महन्थ ठाकुरको नेतृत्वमा विभिन्न राजनीतिक दलबाट आएका नेताको सङ्गठन तराई मधेश लोकतान्त्रिक पार्टीलाई ३.३५ प्रतिशत मतसहित नौ सिट हासिल भएको थियो । त्यस पार्टीले प्राप्त गरेको कुल मत तीन लाख ४५ हजार ५८७ थियो । समानुपातिकतर्फ पार्टीलाई तीन लाख ३८ हजार ९३० मत र ११ सिट हासिल भएको थियो । यो ३.१६ प्रतिशत थियो । नेपाल सद्भावना पार्टी (आनन्दी देवी) बाट छुट्टिएर राजेन्द्र महतोले गठन गरेको सद्भावना पार्टीले एक लाख ७४ हजार ८६ मतसहित चार सिट जित्न सफल भएको थियो । यो कुल मतको १.६९ प्रतिशत थियो । पार्टीले समानुपातिकतर्फ एक लाख १६७ हजार ५१७ मतसहित पाँच सिट जित्न सफल भएको थियो । यो कुल मतको १.५६ प्रतिशत थियो । सबैभन्दा पुरानो मधेशी दल नेसपा (आनन्दी देवी) बिचको अन्तरकलहका कारण यस पार्टीले समानुपातिक तर्फ ५५ हजार ६७१ मतसहित दुई सिट जित्न सक्यो । यो कुल मतको ०.५२ प्रतिशत थियो ।
पहिलो संविधान सभामा राम्रो सफलताप्राप्त गरेका मधेशी दलका नेता मन्त्री पद, सुविधा र बिनाकारण पहिलो संविधान सभाको विघटनको सिफारिस गरे । प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको त्यस मन्त्रीपरिषद्मा ५१ प्रतिशत मन्त्रीहरू मधेशी दलकै थिए । त्यस छ वर्षको अवधिमा मधेशी जनअधिकार फोरम नेपाल आधा दर्जन टुक्रा, तमलोपा दुई टुक्रा र सद्भावना पार्टी तीन टुक्रामा विभाजित भए । यसरी पहिलो संविधान सभामा चार वटा मधेशी दलले सहभागिता जनाएकोमा २०७० सालको निर्वाचनमा १४ वटा मधेशी दल सहभागी भए । मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) ले ३.१३ प्रतिशत मतसहित चार सिट प्रत्यक्षमा र २.९१ प्रतिशतसहित १० सिट समानुपातिकमा, मधेशी जनअधिकार फोरम नेपालले २.२८ प्रतिशत मतसहित दुई सिट प्रत्यक्षमा र २.२६ प्रतिशतसहित आठ सिट समानुपातिकमा हासिल गरे । तराई मधेश लोकतान्त्रिक पार्टीले १.९० प्रतिशत मतसहित चार सिट प्रत्यक्षमा र १.९१ प्रतिशत मतसहित सात सिट समानुपातिकमा हासिल गरे । सद्भावना पार्टीले १.५६ प्रतिशत मत एक सिट प्रत्यक्षमा र १.४१ प्रतिशत मतसहित पाँच सिट समानुपातिकमा प्राप्त गरे । राष्ट्रिय मधेश समाजवादी पार्टीले ०.८४ प्रतिशत मत ल्याएर तीन सिट समानुपातिकमा, तराई मधेश सद्भावना पार्टीले प्रत्यक्षमा एक र समानुपातिकमा दुई गरी कुल तीन सिट प्राप्त गरे । मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) र सङ्घीय सद्भावना पार्टीले समानुपातिकतर्फ १–१ सिट प्राप्त गरे । फलस्वरूप संविधान निर्माण कार्यमा उपरोक्त दलहरूको सशक्त उपस्थिति भएन । यसै अवधिमा २०७२ असोज ३ गते संविधान सभाबाट नेपालको संविधान जारी भयो ।
नेपालको संविधान निर्माण भएपछि २०७४ सालमा आमनिर्वाचन भएको थियो । त्यस निर्वाचनमा एकातिर नेकपा (एमाले) र नेकपा (माओवादी) ले मिलेर वाम गठबन्धनको निर्माण गरेको थियो भने अर्कोतिर छ वटा मधेशी दल (महन्थ ठाकुरको तमलोपा, राजेन्द्र महतोको सद्भावना पार्टी, शरद सिंह भण्डारीको राष्ट्रिय मधेश समाजवादी पार्टी, महेन्द्र राय यादवको तराई मधेश सद्भावना पार्टी, फोरम (गणतान्त्रिक) र नेपाल सद्भावना पार्टी) मिलेर बनेको राष्ट्रिय जनता पार्टी र उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम मिलेर बनेको मधेशी मोर्चा चुनावमा भाग लिएको थियो । नेपाली कांग्रेस भने एक्लै चुनाव लडेको थियो । चुनावमा राष्ट्रिय जनता पार्टीले चार लाख ७२ हजार २५४ मतसहित प्रत्यक्षतर्फ ११ सिट जितेको थियो । यो कुल मतको १४.९५ प्रतिशत थियो जबकि समानुपातिकतर्फ पार्टीले छ सिट जितेको थियो । त्यसै गरी उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरमले प्रत्यक्षतर्फ चार लाख ७० हजार २०१ मत (४.९३ प्रतिशत) सहित १० सिट जित्न सफल भएको थियो ।
२०७९ सालको आमनिर्वाचनमा जसपा नेपालले चार लाख २१ हजार ३१३ मत (३.९९) प्रतिशतसहित प्रत्यक्ष तर्फ सात र समानुपातिकको पाँच गरी कुल १२ सिट जित्न सफलता हासिल ग¥यो । महन्थ ठाकुरको लोसपाले प्रत्यक्षतर्फ चार सिट जित्न सफल रह्यो, तर समानुपातिकमा यसले तीन प्रतिशत मत ल्याउन सकेन । नवोदित जनमत पार्टीले प्रत्यक्षतर्फ एक र समानुपातिकतर्फ पाँच सिट जित्न सफल रहेको थियो ।
आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा महन्थ ठाकुर र उपेन्द्र यादव मिलेर चुनावमा जाने भएका छन् । दुवै दल मिलेर गएमा छ प्रतिशत जति मत पाउने सम्भावना छ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी मिलेर गएमा यो प्रतिशत १० को नजिक पनि पुग्न सक्छ तर जनमत एक्लै चुनावमा जाने सम्भावना छ । लोसपाबाट राजेन्द्र महतो बाहिरिएका छन् भने हृदयेश त्रिपाठीको पार्टी भित्रिएको छ । जसपा पनि विभाजित भई त्यसको एक समूह जसपा नेपालमा फर्केको छ । चुनावी राजनीतिलाई धेरै कुराले प्रभावित गरिरहेको हुन्छ । केवल विचारधारा तथा गुण–अवगुण मात्रै निर्णायक हुँदैन । चुनावलाई जाति, धनबल, साम्प्रदायिकता, भावना र स्थानीय परिस्थितिले पनि प्रभावित गरिरहेको हुन्छ । मधेशमा नेपाली कांग्रेस, नेकपा, मधेशी दल र एमालेबिच नै मुख्य प्रतिस्पर्धा रहने छ । युवामा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति उत्साह देखिए पनि त्यसले चुनाव परिणामलाई नै प्रभावित गर्न सक्ने अवस्था छैन । मधेशी दलहरू मिलेर चुनावमा गए केही हदसम्म प्रभाव पार्न सक्ने सम्भावना देखिन्छ ।