गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले ३०४औँ पृथ्वीनारायण जयन्ती तथा राष्ट्रिय एकता दिवसले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राखी जनताको सुख र समृद्धि हासिल गर्ने प्रेरणा सबैलाई प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
पुस २७ गते मनाइने राष्ट्रिय एकता दिवसलाई पृथ्वी जयन्तीका रूपमा पनि मनाइन्छ । यो दिवसका अवसरमा राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा भन्नुभएको छ, “पृथ्वीनारायण शाहले छरिएर रहेका राज्यलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको र सो अभियानलाई इतिहासको विभिन्न कालखण्डमा हाम्रा वीर पुर्खाले निरन्तरता दिएको कारणले हामीले आज सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएका छौँ ।”
राष्ट्रपति पौडेलले पृथ्वीनारायण शाहको दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक रहेको उल्लेख गर्दै सो दिव्योपदेशबाट सवल अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रसँग कूटनीतिक सम्बन्ध निर्माण, धर्म, संस्कृति र परम्पराको संरक्षण, जनकल्याण र राज्यको जिम्मेवारी, न्याय र सुशासन तथा राष्ट्रिय एकताको प्रवर्धनका लागि मार्गदर्शन लिन सकिने बताउनुभएको छ ।
पुर्खाको योगदानलाई सम्मान गर्ने अवसर
यसैबिच उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकता दिवसको शुभकामना दिँदै मुलुकलाई एक सूत्रमा बाँध्ने महान् प्रयत्न गर्ने पुर्खाको योगदानलाई यस दिवसले सम्मान गर्ने अवसर प्रदान गरेको बताउनुभएको छ । यस दिवसले नेपालीलाई आपसी विश्वास, सहयोग र साझा जिम्मेवारीको भावनासहित अगाडि बढ्न आह्वान गर्ने गरेको उहाँको सन्देशमा उल्लेख छ ।
नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतालाई आत्मसात् गर्दै सामाजिक सद्भाव, सहिष्णुता र समरसता अभिवृद्धि गर्ने उत्प्रेरकका रूपमा यस दिवसलाई उपयोग गर्न सक्नुपर्ने उहाँको भनाइ छ ।