• २७ पुस २०८२, आइतबार

सुधारगृहका बालकलाई एडभोकेसीको सहयोग

blog

सुधारगृह प्रमुख किशोर शर्मालाई सामग्री हस्तान्तरण गर्नुहुँदै एडभोकेसी फोरम लुम्बिनीका संयोजक अधिवक्ता वसन्त गौतम । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, पुस २६ गते । मानव अधिकारवादी संस्था एडभोकेसी फोरम नेपालले बाँकेको डुडुवा आसमानपुरस्थित जयेन्दु बाल सुधारगृहमा कानुनी विवादमा परेका बालकहरूका लागि खेलकुद तथा पाठ्यसामग्री सहयोग गरेको छ । 

सुधारगृहमा पर्याप्त पाठ्यसामग्री र खेलकुद सामग्रीको अभाव भएपछि त्यहाँ रहेका बालकहरूले लिखित रूपमा सहयोगको अनुरोध गरेका थिए । सुधारगृह प्रशासन र बालकहरूको संयुक्त अनुरोधपछि फोरमले करिब १७ हजार रुपियाँभन्दा बढी मूल्यका सामग्री उपलब्ध गराएको हो ।

भलिबल, फुटबल, पुस्तक, कापी, कलम लगायतका सामग्री प्रदान गरिएको छ । शैक्षिक सामग्रीमा सामान्य ज्ञानका पुस्तकदेखि धार्मिक पुस्तकसम्म समावेश गरिएको एडभोकेसी फोरमले जनाएको छ । 

सामग्री हस्तान्तरण कार्यक्रम कानुनी विवादमा परेका बालकहरूको उपस्थिति तथा सुधारगृहका जग्गादाता समाजसेवी जयकेस सिंहको रोहबरमा सम्पन्न भएको थियो । कार्यक्रममा एडभोकेसी फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतमले जयेन्दु बाल सुधारगृहका प्रमुख किशोर शर्मालाई सामग्री हस्तान्तरण गर्नुभयो । 

सुधारगृह प्रमुख किशोर शर्माले फोरमको सहयोगले बालकलाई पढाइ र मनोरञ्जन दुबैमा सहयोग पुगेको बताउनुभयो । “यस प्रकारको सहयोगले बालकहरूको दैनिकी सहज बनेको छ । मानसिक रूपमा पनि सकारात्मक प्रभाव परेको छ” उहाँले भन्नुभयो । फोरमको सहयोगले सुधारगृह प्रशासनलाई समेत ठुलो राहत मिलेको उहाँको भनाइ छ ।

सुधारगृहमा विद्यालय सञ्चालन गर्न नेपालगन्ज उच्च अदालतले परमादेश जारी गरिसकेको भए पनि हालसम्म उक्त आदेश कार्यान्वयन हुन नसकेको अधिवक्ता गौतमले जानकारी दिनुभयो । 

स्वीकृत विद्यालय सञ्चालन नहुँदा त्यहाँ रहेका बालकको औपचारिक पढाइमा प्रत्यक्ष असर परेको तथा आवश्यक पूर्वाधार, शिक्षा, स्वास्थ्य र मनोरञ्जनको समुचित व्यवस्था नहुँदा धेरै बालकहरू समयको सदुपयोग गर्न नपाइ त्यतिकै बस्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

कानुनी विवादमा परेका दुईजना बालकलाई शैक्षिक सहयोग गरेको संयोजक अधिवक्ता गौतमले जानकारी दिनुभयो । सुधारगृहमा विद्यालय नहुँदा बालकहरू माध्यमिक तथा उच्च शिक्षाका लागि सुधारगृह बाहिरका निजी तथा सरकारी शैक्षिक संस्थामा व्यक्तिगत रूपमा शुल्क तिरेर अध्ययन गर्न बाध्य रहेका उहाँले बताउुनभयो । 

कमजोर आर्थिक अवस्थाका कारण पढाइ निरन्तरता दिन नसक्ने अवस्थाका दुई बालकलाई फोरमले अध्ययनमा सहयोग गरेको उहाँको भनाइ छ । एडभोकेसी फोरम नेपालले यसअघि पनि सुधारगृहमा रहेका बालकको लागि शिक्षा, स्वास्थ्य, पारिवारिक पुनर्मिलन तथा पुनस्र्थापनामा सहयोग गर्दैआएको जनाएको छ । 

हाल जयेन्दु बाल सुधारगृहमा १७६ जना बालक रहेका छन् । तीमध्ये १८ वर्षमुनिका ९५ जना र १८ वर्षमाथिका ८१ जना कानुनी विवादमा परेका बालकहरू रहेका छन् । सुधारगृहको क्षमताभन्दा बढी बालक राखिँदा आवश्यक सेवा र व्यवस्थापनमा समस्या देखिने गरेको छ ।