• २७ पुस २०८२, आइतबार

निर्वाचन प्रहरीको भर्ना प्रक्रिया सुरु

blog

निर्वाचन प्रहरीको दरखास्त लिन थालेको जिल्ला प्रहरी कार्यालय बाँके। तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, पुस २६ गते। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा दुई हजार ४९१ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले दिनुभएको जानकारी अनुसार आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाँकेको तीन निर्वाचन क्षेत्रमा खटाउन दुई हजार ४९१ जना निर्वाचन प्रहरी भर्ना गर्ने प्रक्रिया सुरु गरिएको हो।  

निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति बाँकेले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका लागि एकीकृत सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेर दरखास्त लिन समेत सुरु गरेको छ।

समितिले जारी गरेको सूचनाअनुसार निर्वाचन प्रहरी पदका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले आगामी माघ १ गतेसम्म दरखास्त दिन सक्ने जनाइएको छ।

भर्ना हुन चाहनेहरुले जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय कोहलपुर, इलाका प्रहरी कार्यालय भगवानपुर, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी भवनियापुर बाँके र सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेडक्वाटर शमसेरगन्ज बाँकेमा दरखास्त दिन सकिने पनि जनाइएको छ।

यस्तै, निर्वाचन प्रहरीको कार्य अवधि नियुक्ति मितिदेखि ४० दिन वा नेपाल सरकारले तोके बमोजिम रहने छ। सेवा सुविधाअन्तर्गत प्रतिदिन ८६९ रुपियाँ ४० पैसाको दरले ४० दिनका लागि ३४ हजार ७७६ रुपियाँ पारिश्रमिक प्रदान गरिन समितिले जनाएको छ। साथै सम्बन्धित जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउने दररेट अनुसार खाद्यान्न खर्चसमेत उपलब्ध गराइने सूचनामा उल्लेख छ।

निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले जारी गरेको सूचना अनुसार निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन पर्याप्त सङ्ख्यामा निर्वाचन प्रहरी परिचालन गरिने जनाइएको छ। 

बाँकेमा यस पटक तीन लाख ५१ हजार ४३९ जना मतदाता सङ्ख्या पुगेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेक बहादुर शाहीले जानकारी दिनु भयो।

उहाँले निर्वाचन क्षेत्र नम्बर एकमा एक लाख २१ हजार ५३१, क्षेत्र नम्बर दुईमा ९८ हजार ५१२ र क्षेत्र नम्बर तीनमा एक लाख १३ हजार ८९१ मतदाता रहेको बताउनु भयो। 

बाँकेमा १३९ मतदान स्थल र ४०० मतदान केन्द्र रहेको पनि जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।