• २६ पुस २०८२, शनिबार

पार्टी विधानअनुसार विशेष महाधिवेशन अघि बढ्छ : महामन्त्री शर्मा

blog

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा

काठमाडौँ, पुस २५ गते । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशन पार्टी विधानको व्यवस्थाअनुसार नै अघि बढ्ने बताउनुभएको छ।

महाधिवेशनस्थलको अवलोकनका लागि शुक्रबार भृकुटीमण्डप पुग्नुभएका महामन्त्री शर्माले सञ्चारकर्मीहरूसँग कुरा गर्दै विशेष महाधिवेशनको प्रक्रिया विधानबमोजिम सञ्चालन हुने स्पष्ट गर्नुभयो। उहाँका अनुसार विशेष महाधिवेशनको प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भइसकेपछि आवश्यक कार्यविधि निर्माण गरिने र सोहीअनुसार नेतृत्व चयनको प्रक्रिया अघि बढाइनेछ।

महामन्त्री शर्माले पार्टीका कुनै पनि नेताप्रति अनादर गर्ने वा नकारात्मक टिप्पणी गर्ने पक्षमा आफू नरहेको स्पष्ट पार्दै पार्टी विधानको व्यवस्थाअनुसार महाधिवेशनको प्रक्रिया अघि बढ्नुपर्नेमा जोड दिनुभयो। 

उहाँले विशेष महाधिवेशनमा सहभागिताका लागि पार्टी सभापति तथा कार्यवाहक सभापतिलाई समेत निमन्त्रणा गरिसकेको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “हामी अहिले कसैका बारेमा पनि टिप्पणी गर्दैनौँ। मूल प्रश्न पार्टी विधानअनुसार प्रक्रिया अघि बढ्छ कि बढ्दैन भन्ने हो। त्यसैले पार्टी सभापति र कार्यवाहक सभापतिको सहभागिताका लागि पनि साथीहरूले आह्वान गर्नुभएको छ। विस्तारै विशेष महाधिवेशन सबैको साझा मञ्चका रूपमा अघि बढ्छ, बढ्नुपर्छ भन्ने हाम्रो अपेक्षा छ।”

महामन्त्री शर्माले आइतबारदेखि सुरु हुने विशेष महाधिवेशन समग्र पार्टीका लागि साझा मञ्चका रूपमा अघि बढ्ने विश्वाससमेत व्यक्त गर्नुभयो।