• २६ पुस २०८२, शनिबार

पोखराको ल्यान्डफिल विवाद : वडा कार्यालयमा ताला

blog

पोखरा–३३ को कार्यालयमा विरोध प्रदर्शन गरिरहेका सर्वसाधारण । तस्बिर : गोरखापत्र

फडिन्द्र अधिकारी

लेखनाथ, पुस २५ गते । पोखरा महानगरपालिकाको ल्यान्डफिल साइटबारे स्थानीय र पोखरा महानगरबिच समझदारी नहुँदा विवाद चर्किएको छ ।

ल्यान्डफिल बनाउन लागिएको वडा नम्बर ३३ मा शुक्रबार स्थानीयले तालाबन्दी गरिदिएका छन् भने वडाध्यक्षलाई प्रहरीले उद्धार गरेको छ । पोखरा महानगरपालिकाले वडा नम्बर ३३ को पुँडीटारमा ल्यान्डफिल साइट बनाउने तयारी गरेपछि स्थानीय आन्दोलित भएका हुन् ।

शुक्रबार दिउँसो ज्ञापनपत्र बुझाउन वडा कार्यालय पुगेका स्थानीय र वडाध्यक्षबिच विवाद भएको थियो । विवादका क्रममा वडाध्यक्ष रामचन्द्र अधिकारीले खुकुरी नचाएर त्रास देखाएको स्थानीयको दाबी छ ।

विवादले झडप निम्तिने देखिएपछि प्रहरीले वडाध्यक्ष अधिकारीलाई आफ्नो गाडीमा राखी जिल्ला प्रहरी कार्यालय कास्की ल्याएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरिबहादुर बस्नेतले भन्नुभयो, “झडपको स्थिति आउन सक्ने र मानवीय क्षति हुन सक्ने देखेर वडाध्यक्षज्यूलाई हामीले जिप्रका ल्याएका हौँ । पक्राउ गरिएको भने होइन ।”

घटनापछि वडा कार्यालयमा स्थानीयले प्रदर्शन जारी राखेका छन् भने जिल्ला प्रशासन कार्यालय कास्कीमा पोखरा महानगरपालिकाका प्रतिनिधि र प्रभावित स्थानीयबिच वार्ता जारी छ । स्थानीयले वडाध्यक्षको निजी गाडीमा समेत तोडफोड गरेका छन् । 

पोखरा महानगरले वडा नम्बर ३३ मा ल्यान्डफिल साइट बनाउन गएको मङ्सिर २ गते टेरासोल्भ रिन्युवल नेपाल प्रालिसँग सम्झौता गरेको थियो । कम्पनीले २६ महिनामा ल्याडफिल बनाइसक्ने र सार्वजनिक निजी साझेदारीमा भएको सम्झौताको अवधि २१ वर्ष छ । स्थानीयले सहमतिविना व्यक्तिको जग्गा रोक्का राखेको भन्दै आन्दोलन चर्काएका हुन् ।

पोखरा–१४, बाच्छेवुडुवामा रहेको ल्यान्डफिल साइट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुअघि बन्द गरिएको थियो । त्यसयता महानगरले पोखरा–३२, लामेआहालमा अस्थायी ल्याडफिल बनाएर विसर्जन गर्दै आएको छ ।