ज्ञानु पंगेनी
मध्यविन्दु, पुस २५ गते । नवलपुरको मध्यविन्दु नगरपालिका –११ अरुणखोलामा एक जना महिलाको शव शङ्कास्पद अवस्थामा फेला परेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
मध्यविन्दु –११ बाहुन्ने कुनास्थित पूर्व–पश्चिम राजमार्गको कल्भर्टमुनि कुसुन्डे सिँचाइको नहरमा बुधबार महिलाको शव फेला परेको थियो । शरीरमा चोटपटक देखिएको अवस्थामा मध्यविन्दु –१० निवासी ३५ वर्षीया रिता मुसहरको शव फेला परेको थियो ।
घटना अनुसन्धानकै क्रममा रहेको हुँदा प्रहरीले पक्राउ परेकाहरुको नाम सार्वजनिक गरेको छैन । संलग्न रहेको आशंकामा पक्राउ परेकामध्ये मधेसीमूलको नागरिक रहेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक युवराज खड्काले पक्राउ परेकाहरुमाथि अनुसन्धान जारी रहेकाले तत्काल नाम सार्वजनिक गर्न नमिल्ने बताउनुभयो ।
गत बुधबार बिहान बोराभित्र राखेर नहरमा फालेको अवस्थामा शव फेला परेको थियो । बोराभित्र खुट्टा मात्र देखिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।