• २६ पुस २०८२, शनिबार

राजविराज विमानस्थलबाट सुरु भएन रात्रिकालीन उडान

blog

राजविराज विमानस्थल । तस्बिर : विनय कर्ण

विनय कर्ण

कल्याणपुर (सप्तरी), पुस २५ गते । बुद्ध एयरले राजविराज विमानस्थलबाट दैनिक दुई उडान सञ्चालन गर्ने घोषणा गरेको एक वर्ष बितिसक्दा पनि रात्रिकालीन उडान अझै सुरु हुन सकेको छैन।

बुद्ध एयरले २०८१ साल चैत १९ गतेदेखि राजविराज–काठमाडौं रुटमा दैनिक दुई उडान सञ्चालन गर्ने जनाएको थियो । त्यसैको तयारी स्वरुप २०८१ साल मङ्सिर २९ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले राजविराज विमानस्थलबाट रात्रिकालीन उडानको परीक्षण उडानको शुभारम्भ गर्नुभएको थियो ।

परीक्षण उडानपछि चैत १९ गतेदेखि नियमित रात्रिकालीन उडान सुरु हुने जानकारी दिइए पनि हालसम्म त्यो कार्यान्वयनमा आउन सकेको छैन । हाल बुद्ध एयरले राजविराजबाट काठमाडौँका लागि दिउँसो एक मात्र उडान सञ्चालन गर्दै आएको छ ।

परीक्षण उडान सम्पन्न भएको एक वर्ष बित्दा पनि नियमित उडान सुरु नहुँदा स्थानीयवासीले असन्तुष्टि व्यक्त गरेका छन् । स्थानीय महामाया प्रसाद सिंहले “हात्ती आयो, हात्ती आयो, फुस्सा” जस्तै अवस्था भएको टिप्पणी गर्नुभयो ।

उडान परिक्षण सकिएपछि त्यत्तिवेला बुद्धएयरका ब्यवस्थापन पक्षले २०८१ चैत्र १९ बाट दिनको १२ः२५ र साँझको ६ बजे गरी दैनिक २ वटा उडान राजविराजबाट काठमाण्डौंका लागी प्रस्थान गर्ने समय तालिका नै सार्वजनिक गरेको थियो । तर अहिले आएर ट्राफिक, नोटम, एक्सचेन्जर र फ्लाईटरहरुको उडान तालिका लगायतका विषयमा काठमाण्डौ स्थित फ्लाईट विभागबाट अनुमती प्राप्त गर्न ढिलाइ भएकाले रात्रीकालिन उडान सुरु गर्न समस्या भएको बुद्ध एयर व्यवस्थापन पक्षले जनाएको छ ।

बुद्ध एयरका राजविराज स्टेशन म्यानेजर अनिल राजवंशीले ट्राफिक, नोटम र उडान तालिकासम्बन्धी स्वीकृतिमा ढिलाइ तथा मौसमका कारण रात्रिकालीन उडान सुरु हुन नसकेको बताउनुभयो । उहाँले मौसम अनुकूल भएपछि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।