• २५ पुस २०८२, शुक्रबार

कैलालीको नदीहरुमा ५४ डल्फिन भएको अभिलेख

blog

मोहना नदीमा देखिएको डल्फिन । तस्बिरः अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, पुस २४ गते । कैलालीमा यसवर्ष ५४ वटा डल्फिन रहेको अभिलेख भएको छ । डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालसँगको सहकार्यमा राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाले यसवर्ष गरेको अध्ययनको क्रममा सो सङ्ख्यामा डल्फिन अभिलेख भएका हुन् । 

जसमा विहान १५ वटा र साँझ आठवटा अर्धवयस्क बच्चा देखापरेका थिए । डल्फिन अवलोकन सिजन चलेको बेला गत भदौमा कैलालीस्थित मोहना, पथरैया नदीमा टीकापुर, भजनी क्षेत्रमा अध्ययन गरिएको थियो । 

स्थानीय समुदायलाई तालिम दिएर उनीहरुको समेत सहभागितामा व्यवस्थित र वैज्ञानिक तरिकाले अध्ययन गरेको कोषको बर्दिया प्रमुख अजित तुम्बाहाम्फेले बताउनुभयो । 

उहाँका अनुसार जिपिएस समेतको प्रयोग गरेर साँझ–विहान अध्ययन गरिएको थियो । विश्वमै दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिन मनसुनभरि कैलालीको नदीमा आउने गरेका छन् । नदीमा जलस्तर कम भएपछि भने पुनः तल्लो तटीय क्षेत्रमा फर्कने गरेका छन् । 

विगतमा स्थानीय संरक्षणकर्मीको अध्ययनले ६८ वटासम्म डल्फिन कैलालीमा अभिलेख गरेको थियो । त्यसको तुलनामा यो पटक कम डल्फिन पाइएको प्रमुख तुम्बाहाम्फेले बताउनुभयो । उहाँले अब हरेक वर्ष मोहना, पथरैया नदीमा डल्फिनको अध्ययन गर्ने उल्लेख गर्नुभयो । 

स्थानीयस्तरबाट डल्फिन संरक्षणका लागि भइरहेको प्रयास राम्रो रहेको कोषले जनाएको छ । नदी क्षेत्रमा हुने उत्खनन रोक्न र फोहोरमैलाको उचित व्यवस्थापन गर्नसके अझ राम्रो हुने तुम्बाहाम्फेको भनाइ छ । 

कोषले मोहना नदीको कैलारी गाउँपालिका, धनगढी उपमहानगरपालिका लगायत माथिल्लो क्षेत्रमा अध्ययन नगरेको जनाएको छ । मनसुनमा डल्फिन धनगढी उपमहानगरपालिकाको फूलबारीसम्म पुग्नेगरेको सर्वसाधारणले बताउने गरेका छन् । विगतमा डल्फिन त्रिनगर भन्सारमा रहेको पुलमुनि क्षेत्रमा समेत मोहना नदीमा देखिएको डल्फिन संरक्षणकर्मी विजयराज श्रेष्ठले बताउनुभयो ।  

डल्फिन देखिने विभिन्न अवलोकन क्षेत्रमा अवलोकन विधिबाट अध्ययन गरिएको थियो । यो वर्ष गत वर्षको तुलनामा डल्फिनको बच्चा बढी अभिलेख भएको डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले बताउनुभयो । 

उहाँका अनुसार डल्फिनको सङ्ख्या भने विगत वर्षको तुलनामा केही कम छ । २०७८ सालमा ६२ डल्फिन सूचीकरण भएका थिए । त्यस्तै, २०७९ मा ६८ वटा डल्फिन गणना गरिएको थियो । गतवर्ष ५० वटा डल्फिन अभिलेख भएको ढुङ्गानाको भनाइ छ । डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालले केही वर्षदेखि नै स्थानीय स्तरबाट डल्फिन गणना गर्दैआएको छ ।