• २४ पुस २०८२, बिहिबार

समानुपातिक प्रणालीको दुरुपयोग नगर्न आग्रह

blog

गोरखापत्र अनलाइन

काठमाडौं, पुस २२ गते । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि राजनीतिक दलबाट निर्वाचन आयोगमा पेश गरिएको समानुपातिक सूचीमा समानुपातिक प्रणालीको गम्भीर दुरुपयोग भएकोभन्दै आदिबासी सम्बद्ध संघ संस्थाले आपत्ति जनाएका छन् । 

संविधानले प्रत्याभूत गरेको समानुपातिक अधिकारलाई दुरुपयोग गरी आफ्ना नाता पर्ने, आफन्त तथा इच्छाएका व्यक्तिहरुलाई समानुपातिक सूचीमा राखेर समानुपातिक प्रणालीको दूरुपयोग भइरहेको भन्दै आदिबासी सम्बद्ध संघ संस्थाले सो आपत्ति जनाएका हुन् । 

जेनजी मुभमेन्ट्स अलाइन्स, वाइफिन नेपाल, निफ, ओरेक, नेपाल महिला एकता समाज, वि–वीन लगायतका संस्थाले संविधानको धारा ४२, ८४, १७६ मा उल्लेख गरिएको समानुपातिक प्रणालीको व्यवस्थालाई अंगीकार गर्न राजनीतिक दल र नेताहरुलाई आग्रह गरेको छ । 

समानुपातिक निर्वाचन प्रणाली भनेको राज्यबाट पछाडि पारिएका आदिबासी जनजाति, महिला, थारु, मधेसी, मुस्लिम, दलित, अल्पसंख्यक, सीमान्तकृत, पिछडिएका, अल्पसंख्यक, खस आर्य, पिछडिएको क्षेत्र, अपाङ्गता भएका, योनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको प्रतिनिधित्वका लागि भए पनि सो प्रणालीको चरम दुरुपयोग गरी नातागोता र सम्पन्न व्यक्तिहरुलाई पोस्ने काममा दुरुपयोग भइरहेको ती संस्थाका पदाधिकारीहरुको टिप्पणी छ । 

ती संस्थाहरुले बुधबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि कार्यक्रम गरी त्यसबारे नागरिकलाई जानकारी गराउने तयारी पनि गरेका छन् । समानुपातिक निर्वाचन प्रणालीको सदूपयोग गरी सम्बन्धित समुदायको प्रतिनिधित्वको माग गर्ने जेनजी मुभमेन्ट्स अलाइन्सकी संयोजक सबनम लामाले बताउनुभयो ।