काठमाडौं, पुस २२ गते । युरोपेली मुलुक पोल्यान्डमा बसोबास गर्दै आएका नेपाली समुदायले त्यहाँ नेपाली राजदूतावास स्थापना गर्न सरकारसँग माग गरेका छन् ।
एनआरएनए डोल्नोश्लोन्स्की क्षेत्रीय समिति पोल्यान्डले जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासमार्फत नेपाल सरकारसमक्ष औपचारिक रूपमा उक्त माग प्रस्तुत गरेको हो ।
पोल्यान्डको भ्रोस्वाव सहरमा जनवरी २ गतेदेखि सञ्चालन गरिएको राहदानी घुम्ती शिविरको अन्तिम दिन शिविर समन्वयकर्ता एनआरएनए डोल्नोश्लोन्स्की क्षेत्रीय समितिले आज ज्ञापनपत्र बुझाएको हो ।
एनआरएनए डोल्नोश्लोन्स्की क्षेत्रीय समिति पोल्यान्डका अध्यक्ष दिपेन्द्र अधिकारी तथा सचिव स्मृति खड्काले जर्मनीस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत सागरप्रसाद फुयाललाई पोल्यान्डमा नेपाली राजदूतावास स्थापना गर्न माग गर्दै ज्ञापनपत्र बुझाउनुभयो ।
ज्ञापनपत्रमा करिब २० हजार नेपाली बसोबास गर्दै आएको पोल्यान्डमा राहदानी नवीकरण, कागजी प्रमाणीकरणलगायतका कन्सुलर सेवाहरू सहज र नियमित रूपमा उपलब्ध गराउन स्थायी नेपाली राजदूतावास स्थापना अत्यावश्यक रहेको उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै कार्यवाहक राजदूत फुयालले पोल्यान्डमा नेपाली राजदूतावास स्थापना गर्न गरिएको मागसम्बन्धी ज्ञापनपत्र नेपाल सरकारका सम्बन्धित निकायसम्म पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
हाल पोल्यान्डमा नेपाली राजदूतावास नहुँदा कागजी प्रमाणीकरण, परिवार पुनर्मिलनलगायतका सामान्य प्रक्रियाका लागि समेत नयाँ दिल्लीस्थित पोल्यान्ड दूतावास धाउनुपर्ने बाध्यता रहेको छ । त्यसैगरी राहदानी तथा अन्य कन्सुलर सेवाका लागि पोल्यान्डस्थित नेपालीहरूलाई बर्लिनस्थित नेपाली राजदूतावास पुग्नुपर्ने वा घुम्ती शिविरको प्रतीक्षा गर्नुपर्ने अवस्था रहेको जनाइएको छ ।
जर्मनीस्थित नेपाली राजदूतावासले हाल जर्मनीसहित करिब १० मुलुकमा कन्सुलर सेवा प्रदान गर्दै आएको छ ।