काठमाडौं, पुस २२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशलाई सुशासनको मार्गमा अग्रसर गराउने एकमात्र प्रभावकारी उपाय डिजिटल नेपालको स्पष्ट रोडम्याप रहेको बताउनुभएको छ ।
काठमाडौँमा आयोजित ‘सेपिङ नेपाल डिजिटल फ्युचर’ अन्तर्गतको एआई पोलिसी एन्ड इन्डस्ट्री ग्रोथसम्बन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री खरेलले डिजिटल नेपालको रोडम्याप तयार गरी मुलुकलाई अघि बढाउने सरकारको योजना रहेको उल्लेख गर्नुभयो । उहाँले आफ्नै कार्यकालमा डिजिटल नेपालको रोडम्याप सार्वजनिक गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।
मन्त्री खरेलले डिजिटल नेपालको रोडम्याप तयार गर्दा आवश्यक सुझावहरू बुँदागत रूपमा प्रस्तुत गर्न सरोकारवालासँग आग्रह गर्दै प्राप्त सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सूचना प्रविधि क्षेत्रको विकासका लागि विभिन्न मन्त्रालय र निकायबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै उहाँले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्पर्क मन्त्रालयका रूपमा पुलको भूमिका निर्वाह गर्ने र देखिएका सबै अवरोध हटाउने स्पष्ट पार्नुभयो ।
उहाँले मुलुकको विकास र समृद्धिको आधार सूचना र प्रविधि रहेको उल्लेख गर्दै डिजिटल प्रविधिको प्रभावकारी प्रयोगमार्फत सेवा प्रवाह सरल, पारदर्शी र उत्तरदायी बनाउन सकिने बताउनुभयो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले सरकारले डिजिटल साक्षरता र साइबर सुरक्षामा लगानी वृद्धि गर्दै सुशासनतर्फ अघि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँले डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा विशेष ध्यान दिई नीति निर्माण तथा प्रभावकारी कार्यान्वयन गर्न जोड दिनुभयो ।
छलफल कार्यक्रममा सहभागी सूचना प्रविधि क्षेत्रका प्रतिनिधिहरूले नीति निर्माणभन्दा पनि निर्माण भइसकेका नीतिको प्रभावकारी कार्यान्वयनमा सरकारको ध्यान केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याएका थिए ।