सिराज खान
नेपालगन्ज, पुस २२ गते। जिल्ला प्रहरी कार्यालय बाँकेले प्रहरीले विभिन्न घटनाको बारेमा गहिरिएर अनुसन्धान गरिरहेको बताउँदै अनुसन्धानलाई प्रभावमा पार्ने ढंगले प्रचार नगर्न तथा सामाजिक सञ्जालमा पोष्ट नगर्न सर्वसाधारणलाई कडा चेतावनी दिएको छ।
सामाजिक सञ्जालको जथाभावी प्रयोग गरेर विभिन्न घटनाको अनर्गल प्रचार गरेर सद्भाव बिथोल्ने तथा गलत क्रियाकलापलाई ढाकछाप गर्ने कार्य गर्न खोजिएको जनाउँदै जिल्ला प्रहरी कार्यालय बाँकेले विज्ञप्तिमार्फत सो चेतावनी दिएको हो।
पुस १७ गते बिहान करिब २ बजे बाँके जिल्लाको डुडुवा गाउँपालिका ४ का सद्दाम खाँलाई एक समूहले कुटपिट गरेको घटनाको अनुसन्धान भइरहेको जनाउँदै प्रहरीले घटनालाई तोडमरोड नगर्न सचेत दिएको हो।
बिज्ञप्तीमा भनिएको छ–“घटनाको जानकारी पाउने बित्तिकै प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेको उद्धार गरी उपचारका लागि नेपालगन्ज न्यूरो हस्पिटलमा ल्यायौँ, त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि भारतको लखनउ पठाइएको छ।पारिवारिक स्रोतका अनुसार घाइतेको स्वास्थ्य अवस्था हालसम्म गम्भीर रहेको जानकारी पाएका छौँ ।”
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले सोही घटनासँग जोडिएर एक जना नाबालिका बलात्कार भएको विषयमा पनि प्रहरीले स्वास्थ्य परीक्षणसँगै अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताउनुभयो।
दुवै घटना फौजदारी अपराध भएको बताउँदै प्रहरीले अनुसन्धानकै क्रममा रहेकोले अनावश्य कुरा बाहिर नल्याउन समेत सबैलाई सचेत गराएको छ ।
प्रहरीेले दुबै घटनाको निष्पक्ष र तथ्यमा आधारित अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्दै अनुसन्धानमा सहयोग गर्न सर्वसाधारणसँग अनुरोध गरेको छ।