• २४ पुस २०८२, बिहिबार

गङ्गालाल हृदय केन्द्रको सेवा गुणस्तरीय बनाउन सहयोग गर्ने मन्त्री गौतमको प्रतिबद्धता

blog

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको अनुगमन गर्दै ।

काठमाडौँ, पुस २२ गते ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतमले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको सेवालाई गुणस्तरीय बनाउन मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

 मन्त्री गौतमले मङ्गलबार केन्द्रको अनुगमन गर्दै केन्द्रको सेवालाई गुणस्तरीय  बनाउन मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको हो । 

 उहाँले भन्नु भयो, “केन्द्रको प्रगति र सुधार प्रशंसनीय छन्।, अस्पतालको सेवालाई अझ गुणस्तरीय  बनाउन मन्त्रालयको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता गर्दछु ।”

निरीक्षणका क्रममा मन्त्री डा.गौतमलाई केन्द्रले मुटु रोगको उपचारमा हासिल गरेका उपलब्धि, पूर्वाधार विकास, र सेवा विस्तारका कार्यक्रमबारे विस्तृत जानकारी गराइएको थियो ।

 राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा एक हजार भन्दा बढी उपकरणको मर्मत, धरानस्थित बिपीकेआइएचएसमा कार्डियाक सर्जरी सेवाको विस्तार, र थप तीन वटा अत्याधुनिक अप्रेसन थिएटर निर्माण जस्ता महत्त्वपूर्ण कार्यहरू अन्तिम चरणमा पुगेको विषयमा मन्त्री डा.गौतमले खुसी व्यक्त गर्नु भयो । 

केन्द्रले अस्पताललाई प्रविधिमैत्री बनाउन ई सेवामार्फत अनलाइन टिकट र ल्याब रिपोर्टको व्यवस्था गर्नुका साथै बिरामी र कुरुवाका लागि निःशुल्क भोजन, स्तनपान कक्ष, र ज्येष्ठ नागरिक सहायता कक्ष जस्ता मानवीय सुविधाहरू थप गरेको जानकारी गराएको थियो ।