• २४ पुस २०८२, बिहिबार

ग्रिनल्यान्ड विवादले नाटो सङ्कटतर्फ

blog

कोपनहेगन, पुस २२ गते । डेनमार्कका प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले ग्रिनल्यान्डलाई संयुक्त राज्य अमेरिकाले अधिग्रहण गरेमा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो)को अन्त्य हुने गम्भीर चेतावनी दिनु भएको छ । उहाँको यो अभिव्यक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खनिज-धनी र रणनीतिक आर्कटिक टापु ग्रिनल्यान्डलाई अमेरिकी नियन्त्रणमा ल्याउन आह्वान गरेपछि आएको हो ।

शनिबार बिहान भेनेजुएलाको काराकसमा राष्ट्रपति निकोलस मदुरो र उहाँकी श्रीमतीलाई पक्राउ गर्न अमेरिकी सेनाले गरेको गोप्य सैन्य अपरेसनपछि विश्वव्यापी स्तरमा हलचल मच्चिएको छ । यही घटनाले डेनमार्क र ग्रिनल्यान्डमा थप चिन्ता बढाएको छ । ग्रिनल्यान्ड डेनमार्क राज्यअन्तर्गतको अर्ध-स्वायत्त क्षेत्र हो र यसरी नाटोको हिस्सा पनि हो । प्रधानमन्त्री फ्रेडरिक्सन र ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स फ्रेडरिक निल्सनले अमेरिकी राष्ट्रपति ट्रम्पका अभिव्यक्तिको कडा निन्दा गर्दै यसको परिणाम विनाशकारी हुनसक्ने चेतावनी दिनु भएको छ । 

उहाँहरू प्रति धेरै युरोपेली नेताले ऐक्यबद्धता जनाएका छन् । डेनमार्कको प्रसारण कर्ता टिभी २ सँग कुरा गर्दै प्रधानमन्त्री फ्रेडरिक्सनले भन्नु भयो, “यदि संयुक्त राज्य अमेरिकाले अर्को नाटो सदस्य राष्ट्रमाथि सैन्य आक्रमण गर्ने निर्णय गर्यो भने सबै कुरा रोकिन्छ । दोस्रो विश्वयुद्धपछि स्थापित सुरक्षा व्यवस्था त्यही समाप्त हुन्छ ।” उहाँले राष्ट्रपति ट्रम्पले ग्रिनल्यान्ड चाहेको भनाइलाई गम्भीर रूपमा लिनुपर्ने उल्लेख गर्दै डेनमार्क र ग्रिनल्यान्ड यस्तो खतरनाक अवस्थालाई स्वीकार गर्न नसक्ने स्पष्ट पार्नु भयो ।

आइतबार राष्ट्रपति ट्रम्पले ‘२० दिनपछि ग्रिनल्यान्डबारे कुरा गरौँ’ भन्ने अभिव्यक्तिले नजिकै भविष्यमा अमेरिकी हस्तक्षेप हुन सक्ने आशङ्का झनै गहिरिएको छ । ट्रम्पले यसअघि पनि आफ्नो दोस्रो कार्यकालको सुरुआती चरणमै ग्रिनल्यान्डलाई अमेरिकी क्षेत्राधिकारमा ल्याउनु पर्ने बताउँदै सैन्य विकल्प अस्वीकार नगरेको सङ्केत दिनु भएको थियो । ग्रिनल्यान्डका प्रधानमन्त्री निल्सनले पत्रकार सम्मेलनमा ग्रिनल्यान्डलाई भेनेजुएलासँग तुलना गर्न नमिल्ने बताउँदै जनतालाई शान्त र एकताबद्ध रहन आग्रह गर्नु भयो । 

“संयुक्त राज्य अमेरिकाले सजिलै ग्रिनल्यान्ड जित्न सक्ने अवस्था छैन”, उहाँले भन्नु भयो । यसैबिच राष्ट्रपति ट्रम्पले ग्रिनल्यान्डको सुरक्षा सुदृढ गर्न डेनमार्कले गरेको प्रयासको आलोचना गर्दै आर्कटिक क्षेत्रमा ‘अर्को कुकुर स्लेज’ थपिएको भन्दै व्यङ्ग्य गर्नु भयो । उहाँले रुसी र चिनियाँ जहाजको उपस्थितिलाई कारण देखाउँदै ग्रिनल्यान्ड अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि आवश्यक भएको दाबी गर्नु भयो । 

तर डेनिस इन्स्टिच्युट फर इन्टरनेसनल स्टडिजका विज्ञ उलरिक प्राम गडले आर्कटिकमा त्यस्ता जहाज भए पनि ग्रिनल्यान्डबाट निकै टाढा रहेको बताएका छन् । ग्रिनल्यान्डको उत्तरपश्चिममा अवस्थित पिटुफिक स्पेस बेस अमेरिकी रक्षा मन्त्रालयद्वारा सञ्चालन हुँदै आएको छ । सन् १९५१ मा डेनमार्क-अमेरिका रक्षा सम्झौतापछि स्थापना भएको यस बेसले मिसाइल चेतावनी, रक्षा र अन्तरिक्ष निगरानीमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । 

डेनमार्कको मुख्य भूमिमा पनि अमेरिका-डेनमार्क सैन्य सहकार्य लामो समयदेखि चल्दै आएको छ । डेनमार्कले अमेरिकी एफ-३५ लडाकू विमान खरिद गरेको छ र गत वर्ष संसदले आफ्नै भूमिमा अमेरिकी सैन्य आधारलाई अनुमति दिने विधेयक पारित गरेको थियो । यद्यपि आलोचकले यसले डेनमार्कको सार्वभौमिकतामाथि प्रश्न उठाएको बताएका छन् । सन् २०२३ मा बाइडेन प्रशासनसँग भएको सम्झौतालाई विस्तार गर्दै अमेरिकी सेनालाई डेनमार्कका हवाई अड्डामा व्यापक पहुँच दिएको भन्दै विवाद चुलिँदै गएको छ । रासस/एपी