• २४ पुस २०८२, बिहिबार

मध्यपहाडी राजमार्गको खारखोलामा पुल निर्माण

blog

पुष्पलाल मध्यपहाडी राजमार्ग अन्तर्गत पालुङटार नगरपालिका–२ र १० जोड्ने खारखोलामा बन्दै गरेको मोटरेबल पुल । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका 

सुलीकोट, पुस २२ गते । गोरखाको पुष्पलाल मध्यपहाडी राजमार्ग सडकखण्ड अन्तर्गत पालुङटार नगरपालिका–२ र १० जोड्ने खारखोलामा मोटरेबल पुल निर्माण भएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय पालुङटार गोरखाको बजेटबाट गोरखा सदरमुकामदेखि लमजुङ जोड्ने खारखोलामा मोटरेबल पुल निर्माण भएको हो । 

पुल निर्माणसँगै गोरखा सदरमुकामबाट पालुङटार नगरपालिका–२ र १० नम्बर वडा हुँदै १२ महिना गोरखा सदरमुकम–पालुङटार–लमजुङ पुग्ने सवारीसाधन आवतजावतमा यात्रा सहज हुने पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले बताउनुभयो । 

"गोरखा सदरमुकामबाट छुटेका सवारीसाधन बर्खाको बेलामा खोला तर्न जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता थियो", नगरप्रमुख विवश चिन्तनले भन्नुभयो, "उक्त पुल निर्माण सम्पन्न भएपछि गोरखा र लमजुङको व्यापार व्यवसायले फट्को मार्ने विश्वास गरिएको छ ।"

खारखोलामा बनेको मोटरेबल पुल निर्माणले सवारीसाधन आवतजावतमा दूरी छोटिएर सहज हुनुका साथै पालुङटारका किसानले उब्जाएका कृषिजन्य उपजहरु तथा व्यापार व्यवसायमा वृद्धि भई आम्दानी बढ्ने अपेक्षा गरिएको पालुङटार नगरपालिकाले जनाएको छ । 

खारखोलामा पुल निर्माणको लागि २०८२ साल वैशाख २३ गते श्री अन्यकन्य भिसान थानापति महादेव जेभीसँग ३ करोड दुई लाख ६१ हजार ८६ रुपियाँ लागतामा ठेक्का सम्झौता भएको थियो । 

पुल निर्माण सम्पन्न भने २०८३ वैशाख २२ गते सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भए अनुसार निर्माण कम्पनीले कामलाई तीव्रता दिँदै झण्डै ५० प्रतिशत पुल निर्माण सम्पन्न भइसकेको पुष्पलाल  मध्यपहाडी राजमार्ग आयोजना कार्यालय गोरखाका प्रमुख विवेक सिग्देलले बताउनुभयो ।

निर्माण कम्पनीले तोकिएको समयमा काम सम्पन्न हुने गरी पुल निर्माणमा दक्ष कामदारसहितको टोली पुल निर्माणमा लागि परिरहेकाले समय अगाबै पुल निर्माण हुने अपेक्षा गरिएको पुष्पलाल मध्य पहाडी राजमार्ग आयोजना कार्यालय गोरखाका सूचना अधिकारी गोविन्द श्रेष्ठको भनाइ छ । 

खारखोलामा मोटरेबल पुल निर्माण सम्पन्न भएपछि कास्की र लमजुङ, पालुङटार हुँदै ऐतिहासिक गोरखा जिल्ला घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज यात्रा हुने अपेक्षा गरिएको छ।