• ७ जेठ २०८१, सोमबार

पशुपन्छी बजार प्रवर्द्धनका निर्देशकसहित सात जनाविरुद्ध ४७ लाखको भ्रष्टाचार मुद्दा

blog

काठमाडौं, असार २८ गते। पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालयका निर्देशकसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४७ लाखभन्दा बढी बिगोसहितको भ्रष्टाचारको मुद्दा दायर गरेको छ। 

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालय कार्यालय, हरिहरभवन, ललितपुरका कार्यक्रम निर्देशक बलराम थापा क्षेत्रीसहित सात जनाले गैरकानुनी लाभ हुने गरी सरकारलाई हानी पुर्याएर भ्रष्टाचार गरेको आरोपमा मङ्गलबार मुद्दा दायर भएको हो। 

निर्देशक बलराम थापा क्षेत्री, लेखा अधिकृत रामप्रसाद बजगाईं, वरिष्ठ पशु चिकित्सक पूजा शर्मा, कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष गणेशकुमार लिम्बु र कन्सल्टेन्सीका सञ्चालकसहित सात जनाविरुद्ध ४७ लाख ३७ हजार ६२९ रुपियाँको बिगोसहित भ्रष्टाचार मुद्दा दायर भएको हो। 

पशुहाट बजार निर्माण तथा सुधार कार्यक्रममार्फत तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका ५ जिरीखिम्तीमा आफूलाई फाइदा हुने गरी गलत मनसाय राखेर सरकारलाई हानीनोक्सानी पुर्याउने गरी बिल भरपाइ पेश गरेको आरोप अख्तियारले लगाएको छ। उनीहरुमाथि अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम मङ्गलबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो।